ढल्केवर, धनुषा
सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका माग गर्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले धनुषाको विरेन्द्र बजारमा १ घण्टा पूर्व–पश्चिम राजमार्गमा चक्का जाम गरेका छन् । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार मंगलबार बिहान १० देखि ११ बजेसम्म चक्का जाम गरेका हुन् ।
सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न खोजेकाले त्यसको विरोधमा चक्का जाम गरिएको पार्टीका कार्यकर्ता सन्तोष ‘सि’ले बताए ।
विप्लव नेतृत्वका कार्यकर्ताल सोमबार साँझ विरेन्द बजारमा राँके जुलुससमेत निकालेका थिए । राँके जुलुसका सहभागीहरुले ‘अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने’ माग राखेका थिए ।
उनीहरुले राजबन्दी रिहा गर, अध्यादेश प्रमाणीकरण गर, तीन बुँदे सहमति कार्यान्वयन गर, झूटा मुद्दा खारेज गरलगायतका नाराहरूसमेत लगाएका थिए ।