ढल्केवर, धनुषा
मिथिला उद्योग वाणिज्य संघ ढल्केवरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा संघका अध्यक्ष तेजनारायण साह (सन्तोष) तथा प्रदेशसभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा मिथिला नगरपालिकाका पूर्व मेयरसमेत रहेका प्रमुख अतिथि महतोले ढल्केवर विकासका लागि संघले आवाज उठाउनु सकारात्मक भएको बताउनुभयो । साबिक ढल्केवर गाविस हुँदै २०४६ सालमा पहिलो पटक आफ्नै नेतृत्वमा ढल्केवर व्यापार संघ गठन गरी व्यापारीको हितमा काम गरेको स्मरण गर्दै उहाँले नगर प्रमुखको जिम्मेवारीमा रहँदा पनि व्यापार व्यवसाय उत्थानका निम्ति धेरै योजनाहरु अघि सारिएको जानकारी दिनुभयो ।
प्रमुख अतिथि महतोले अझ गर्ने चाहना हुँदा–हुँदै पनि सरकारको नीतिनियमका कारण अवरोध भएको भने । उहाँले ढल्केवरमा इलाकास्तरका इलाका प्रशासन कार्यालय, नापी र मालपोत कार्यालय ल्याउन कानुनी अड्चन अवरोध बनेको खुलाए ।
त्यस्तै, सिन्धुलीको चन्दनपुर–ढल्केवर सडकमार्ग सञ्चालन गर्न वनले स्वीकृति नदिएकाले काम अगाडि बढ्न नसकेको बताए । ढल्केवरको व्यापार व्यवसायमा वृद्धि ल्याउन आफ्नै अगुवाइमा चन्दनपुर–ढल्केवर सडकमार्ग सञ्चालनमा ल्याउन निरीक्षणसमेत गरेको सुनाउँदै प्रमुख अतिथि महतोले भने ।
यस्तै, साधारणसभाका विशिष्ठ अतिथि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले ढल्केवरको विकास र सौन्दर्यकरणका लागि बजेट बिनियोजन गरिएको र उद्योग वाणिज्य संघसँग हातेमालो गरेर विकासको लक्ष्यतर्फ अगाडि बढ्न चाहेको बताए । उनले चन्दनपुर–ढल्केवर सडकमार्ग सञ्चालन ल्याउन सके ढल्केवरको व्यापारमा वृद्धि आउने भनेर ट्रयाक्ट निर्माणका लागि डिपिआर तयार गर्न छुट्टै बजेट बिनियोज गरिएको जानकारी दिए ।
यसैगरी, मिथिला नगरपालिका कार्यसमितिका सदस्य विशेश्वरप्रसाद साहले ढल्केवर विकासका लागि राजनीतिक दल एक हुनुपर्ने बताए । एउटा राजनीतिक दलको विकासका योजना ल्याउँदा अर्को अवरोध गर्ने जस्ता परिपाटीको अन्त हुनुपर्ने उनले भने ।
मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायणले ढल्केवर चौकमा सुरक्षाको कडा बन्दोबस्त मिलाउनु पर्ने र खानेपानीको प्राप्य व्यवस्था हुनेपर्ने बताउ । उनले ढल्केवरवासीका लागि एकमात्र खानेपानी टंकी जर्जर अवस्थामा पुगिसकेको कुनै पनि बेला भत्किन सक्ने भन्दै भत्किनु अगावै वैकल्पिक खानेपानी टंकी निर्माण र पानीको मात्रा बढाउनुपर्ने जानकारी दिए ।
साधारणसभामा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष राजलाल महतो, नेकपा माओवादी मिथिला नगरपालिकाका अध्यक्ष रामकुमार महतो, वडाअध्यक्षहरु जोगी महतो, बिहारी महतो, रामचन्द्र महतो, नन्दकिशोर यादव, रामबहादुर स्याङ्गदनलगायत उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीय व्यापारी तथा उद्यागीहरुको उपस्थिति रहेको थियो ।