चिसोका कारण धनुषाको छवटा पालिकामा विद्यालय बिदा

|

ढल्केवर, धनुषा

तराई मधेशको जिल्लामा सोमबार बिहानदेखि बढ्दै गएको चिसो र शीतलहरका कारण धनुषाको छवटा पालिकाले विद्यालय विदा दिएका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र औरही गाउँपालिकाले बिदा दिएका हुन् ।

बढ्दो चिसो र शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाहरुले बिदा दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले मङ्गलबारदेखि बिहीबारसम्मका लागि बिदा दिएको छ । सबैला, कमला, औरही र मुखियापट्टी मुसहरनिया पालिकाले आउँदो शनिबारसम्मका लागि बिदा दिएका छन् । यस्तै, धनुषाधाम नगरपालिकाले पुस २७ गतेसम्मका लागि विदा दिएको छ ।

जिल्ला शिक्षा समन्वय इकाई समिति धनुषाका प्रमुख युक्तप्रसाद शर्माले केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण चिसो र शीतलहर बढेका हुनाले पठनपाठनमा कठिनाई पुगेको र बालबालिकाको स्वास्थ्यमासमेत असर पर्न थालेपछि पालिकाहरुले विद्यालय बिदा दिएको बताए ।

चिसो र शीतलहरका कारण तराई मधेशका जिल्लामा जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालक र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाकोखी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

चिसोबाट बच्न सर्वसाधारण आगो बालेर दिन बिताउन बाध्य भएका छन् भने ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ । सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।