विजय साह
ढल्केवर, धनुषा
धनुषाको लालगढमा चार तारे मापदण्डको गौतम होटल निर्माण भइरहेको छ । महोत्तरीको बर्दिवासस्थित गौतम होटलका सञ्चालक हिरा गौतमले ५० करोड रुपियाँको लागतमा सो चार तारे होटल निर्माण गरिरहनु भएको हो ।
बाराको सिमरामा रहेको पाँच तारे ‘होटल इच्छा’पछि मधेश प्रदेशमा यतिका ठूलो लगानीमा निर्माण भइरहेको यो दोस्रो होटल हो । युवा उद्यमी तथा होटल व्यवसायी हिराले ‘समय सापेक्ष बदलिदो सोच, गौतम होटलको नविनतम अठोट’ भन्ने भावका साथ विश्वस्तरको सुविधा सम्पन्न होटल निर्माण गर्न लागिएको बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लालगढमा करिब एक बिघा क्षेत्रफलमा हरियाली एवम् रमणीय वातावरणयुक्त स्थानमा निर्माण भइरहेको होटलमा १५० जनासम्म बसोबास गर्न मिल्ने छन् । होटलमा स्वीमिङग पुल, बगैँचा, फिटनेस सेन्टर, स्टिम बाथ र पर्याप्त पार्किङको स्थान रहने छन् । यसलगायत होटलमा सभा सम्मेलन र गोष्ठीका लागि विभिन्न कक्षहरु रहने सञ्चालक हिराले जानकारी दिनुभयो ।
होटलको संरचना करिब तयार भएकोले अब आन्तरिक व्यवस्थापनसहितका काम गरेर १ वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । होटल संचालनपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत विभिन्न पर्यटन क्षेत्रमा घुम्न आउने पर्यटक तथा व्यापारीलाई उत्कृष्ट सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको उहाँले बताउनुभयो ।
महोत्तरीको बर्दिवासमा विगत चार दशकदेखि गौतम होटल सञ्चालन गर्दै आउनु भएका हिराले निजगढमा बन्ने अन्तराष्ट्रिय विमानस्थल तथा निजगढ–काठमाडौं द्रुत मार्ग निर्माण भएपछि पर्यटकीय हिसाबले मधेश प्रदेशकै कायापलट हुने सम्भावनाका साथ स्तरीय होटल निर्माण गरिरहनु भएको छ ।
मिथिला उद्योग बाणिज्य सङ्घ ढल्केवरका अध्यक्ष तेजनारायण साहले जनकपुरधाम मधेश प्रदेशको राजधानी कायम भएपछि यस क्षेत्रमा स्तरीय होटल खुल्ने क्रम बढेको बताउनुभयो । पर्यटन तथा प्रान्तीयस्तरमा हुने कार्यक्रम, सभा, गोष्ठीका लागि होटल व्यवसायमा लगानी बढ्नु सुखद् भएको उहाँले जानकारी दिनुभयो ।