ढल्केवर कृषि बजारमा कर छुटसहित व्यापारीलाई बिना ब्याज ऋण सुविधा

|

विजय साह
ढल्केवर, धनुषा

धनुषाको ढल्केवरस्थित कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराउन थालिएको छ ।

बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम बिना ब्याज ऋण सापटीको व्यवस्था र बासको व्यवस्था । यस्तै, किसानलाई बेला–बेला कृषि तालिम, उत्कृष्ट किसानको पहिचान गरी पुरस्कृत गर्ने र कृषि भ्रमणजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।

सस्तो मुल्यमा हरियो तरकारी तथा ताजा फलफूल पाइने बजारको रूपमा पहिचान बनाएको यो बजारमा किसानसँग तरकारी तथा फलफूल बिक्री गरेवापतको कर र खरिदकर्ता व्यापारीसँग निकासी कर लिँदै आएको थियो । बजार व्यवस्थापन समितिले एक महिनादेखि यो सबै कर छुट गरेको छ ।

त्यसअघि बजार ठेक्कामा लाग्ने गरेको थियो । बजार ठेकेदारले एक ढाकी तरकारी बिक्री गरेवापत १० देखि २० रुपियाँ किसानसँग र एक पिकअप गाडी तरकारी निकासी गरेवापत एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म व्यापारीसँग कर असुल्थ्यो । यसरी कर उठाउँदा बजारमा खरिद बिक्री गर्नेको सङ्ख्या कम भएको थियो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले किसान र व्यापारीसँग लिँदै आएको सबै प्रकारको कर छुटलगायत सामान खरिद गर्दा गर्दै रकम अपुग भएका व्यापारीलाई सापटी रकमसमेत उपलब्ध गराउने व्यवस्था गरेको बताए । उहाँले एक साताका लागि एक जना व्यापारीलाई २५ हजार रुपियाँसम्म सापटी दिने गरिएको जानकारी दिए ।

अहिलेसम्म धेरै व्यापारीले यसको फाइदा लिएको छ । कर छुटपछि किसान र व्यापारी दुबैलाई फाइदा पुगेको छ । जसले गर्दा यहाँ लाग्ने प्रत्येक बजारको दिन पाँच हजार किसान आ–आफ्नो उत्पादन बिक्रीका लागि र एक हजार पाँच सयभन्दा बढी व्यापारी खरिद गर्न आउने गरेको अध्यक्ष महतोले भने ।

आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्दै आएको यस बजारलाई दैनिकसमेत गरिएको छ । बजारमा स्थानीयस्तरमा उत्पादन भएको तरकारी तथा फलफूल सस्तो मुल्यमा पाइने हुँदा काठमाडौं, पोखरा, सिन्धुली, जनकपुरलगायत ठूल्ठूला सहरका व्यापारी यहाँ आउने गरेका छन् ।

बजारमा जिल्लाको बेङ्गाडाबर, पुष्पवलपुर, बटेश्वर र नकटाझिजलगायत दर्जनौं गाउँका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल यही बजारमा बिक्रीका लागि ल्याउने गरेको छ ।

कृषि बजार व्यवस्थापन समितिका कार्यालय प्रमुख शम्भु दासले गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख २० हजार ९४८ रुपियाँ मल्य बराबरको पाँच हजार ९६२ मेट्रिक टन तरकारी खरिद बिक्री भएको बताए । यस्तै, चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म २९ करोड ८५ लाख २८ हजार ५४२ रुपियाँ मुल्यको तीन हजार २५४ मेट्रिक टन तरकारी तथा फलफूल किनबेच भएको उहाँले जानकारी दिए ।