मिथिला नगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

|

ढल्केवर, धनुषा

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत धनुषाको मिथिला नगरपालिकामा आगामी फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत फागुन १६ गतदेखि आम औषधि सेवन अभियान चलाउन लागिएको मिथिला नगरपालिकाका जनस्वास्थ्य अधिकृत अशोक भण्डारीले जानकारी दिए ।

उनका अनुसार कुनै लक्षण नदेखिएपनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधी सेवन गर्न गराउन अभियान सञ्चालन गर्न लागिएको हो ।

रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियानका लागि नगरपालिका तयारी तीव्र पारेको छ ।

विहिवार ढल्केवरको स्वास्थ्य चौकीमा आयोजित आम औषधी सेवन अभियान सम्बन्धी नगरस्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा जनश्वास्थ्य अधिकृत भण्डारीले हात्तीपाईले रोगविरुद्ध चलाउने औषधीहरु अत्यन्त प्रभावकारी र सुरक्षित रहेको जानकारी दिए ।
उनले दुईवर्ष भन्दामुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धका औषधी खानैपर्ने बताए ।

यसपटक हात्तीपाईले रोग निवारणका लागि अल्वेण्डाजोल, ईभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधी खुवाउने उनले बताए । मिथिला नगरपालिका फाल्गुन ११ गतेदेखि नगरपालिकाको प्रत्येक वडामा अभियान चलाउने र एउटा वडामा ५ वटा टिम तथा एउटा टिममा १८ जनालाई औषधी खुवाउने अभियानका लागि परिचालन गरिने भण्डारीले उल्लेख गरे । मिथिला नगरपालिकाभित्र हालसम्म कुनै पनि हात्तीपाईले रोगका विरामी फेला नपरेको पनि उनले स्पष्ट पारे ।

विगतका अभियानहरुमा औषधी लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने भएपछि यसपटक स्वास्थ्यकर्मीका टोलीले आफ्नै अगाडी औषधी खुवाउने भएको तयारी गरिएको छ ।