
ढल्केवर, धनुषा
सङ्घीय सरकारका कृषि तथा पशुपंशी विकास मन्त्री ज्वालाकुमारी साहले अध्ययन अनुसन्धानबाट उत्पादन भएका बिउ बिजन समयमै किसानसम्म पु¥याउन कृषि अनुसन्धानमा आधारित योजनाका प्रमुखहरुलाई सुझाव दिनुभएको छ ।
शुक्रबार धनुषाको विभिन्न कृषि अनुसन्धान केन्द्रको अनुगमन क्रममा उहाँले कृषि क्षेत्रमा हुने वैज्ञानिक अनुसन्धानबाट आएका नतिजा समयमै किसानको तहसम्म पुग्ने वातावरण मिलाउन कार्यालयका प्रमुखहरुलाई सुझाव दिनुभयो ।
मन्त्री साह जिल्लाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित कृषि अनुसन्धान केन्द्र, नकटाझिजस्थित कृषि यान्त्रिकीकरण र लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनियाँस्थित राष्ट्रिय धानबाली अनसुन्धान कार्यक्रम हर्दिनाथकोे अनुगमन गर्नुभयो ।
अनुगमनको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अनुसन्धान पश्चात तयार पारिएका उन्नत जातका धान, गहुँलगायतका बिउ बिजन समयमै किसानसम्म पु¥याउन सके उत्पादन वृद्धि आउने बताउनुभयो ।
यस कार्यलाई तीब्रता दिन कर्मचारीहरुलाई आफ्नो ठाउँबाट निर्देशन दिएको छु । केही समस्या छ भने त्यसको समाधान खोजेर आउने दिनमा उत्पादनमा बढी जोड दिन भनिएको उहाँले जानकारी दिनुभयो ।
किसानको आवश्यकता र चाहना के हो ? त्यो उपलब्धी कसरी हासिल गर्न सकिन्छ । बिउ बिजन, सिंचाई, मल कृषि बिमाको समस्या कसरी हल गर्न सकिन्छ । त्यसतर्फ आफू गम्भीर रहेको बताउँदै मन्त्री साहले समृद्ध मधेश प्रदेश, समृद्ध नेपाल बनाउन यहाँका जनता राज्यबाट प्राप्त हुने सुविधाबाट बञ्चित नहोस् भने एउटा नीति तथा कार्यक्रम बनाउने बताउनुभयो ।
मन्त्री साहले उत्पादन वृद्धि तथा किसान व्यवस्थापनमा स्थानीय तहको विशेष भूमिका हुने हुँदा स्थानीय तहले पनि आफ्नो दायित्व निर्वाह गर्न सके उत्पादन मुलक क्षेत्रमा आत्मनिर्भर बन्न सकिने जानकारी दिनुभयो ।