कर्मचारी बस्न छोडेपछि खण्डहरमा परिणत सिंचाई कार्यालय भवन

|

विजयकुमार साह
ढल्केवर, धनुषा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हर्दिनाथस्थित कमला सिंचाई आयोजनाको कार्यालय भवन खण्डहरमा परिणत भएको छ । कर्मचारी बस्न छोडेपछि भवन खण्डहरमा परिणत भएको बताइएको छ ।

स्थानीयका अनुसार २०२३ सालमा कर्मचारीका लागि आवासीय सुविधासहित निर्माण गरिएको यस कार्यालयमा कर्मचारी आउन छोडेपछि कुनै बेला चिटिक्क देखिने भवनहरु अहिले खण्डहरजस्तो देखिएको हो । भवन वरपर झार उर्मिएको छ । कतिपय भवनमा छाना, झ्याढोकासमेत छैन भने कुनै–कुनै भवन पूर्णरुपमा चर्किएर भत्किने अवस्थामा पुगेको छ ।

हर्दिनाथ र हारसर गाउँदेखि करिब पाँच सय मिटर पूर्व सुनसान ठाउँमा अढाई बिघा क्षेत्रफलमा आवासीय र कार्यालय प्रायोजनका लागि आठ वटा भवन छन् । ति भवनमध्ये एउटामा मात्र चौकीदार बस्छन् । जुन अहिले पनि ठिकठाक छ । बाँकी भवन भग्नावशेषमा परिणत भएका छन् ।


सुरुका दिनमा कार्यालय प्रमुख, इन्जिनीयर, ओभरसियरलगायत सबै तहका कर्मचारी बस्नु हुन्थ्यो । उहाँहरु बस्न थाल्नुभएको केही वर्षपछि डाका लाग्यो । डाकाले कर्मचारीको सुनचाँदीलगायत रुपियाँ पैसा सबै लुटेर लगेपछि आवासमा बस्ने कर्मचारी जनकपुर डेरा सार्नुभयो । त्यसपछि २०५८ सालमा माओवादी जनयुद्धका बेला माओवादीका कार्यकर्ताले कार्यालयमा भएका कागजातहरु नष्ट गरिदिएपछि कर्मचारी आउन छोडेकोे स्थानीयको कथन छ ।

सुरुमा कार्यालयको नाम हर्दिनाथ सिंचाई आयोजना थियो । त्यही सिंचाई आयोजनामार्फत जलाद नदीमा सिंचाई गेट र करिब दुई हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाई गर्न नहर निर्माण गरिएको स्थानीय जानकीशरण यादवले बताउनुभयो ।

जिल्लामा सिंचाई क्षेत्रको पहिलो कार्यालय यही भएको उहाँले त्यसपछि जिल्ला सिंचाई आयोजनामा गाभिएको जानकारी दिनुभयो । जिल्ला सिंचाई आयोजना पनि टुक्रिएपछि करिब सात वर्षदेखि कमला सिंचाई आयोजना मातहत यो कार्यालय रहेको छ । घेराबेरा र मर्मतसम्भार गरेपछि अहिले पनि कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिने यादवले भन्नुभयो ।

कमला सिंचाई आयोजना पोर्ताहाका प्रमुख विरेन्द्र यादवले हर्दिनाथस्थित भत्किन लागेको कार्यालय भवनको संरक्षण गरिने बताउनुभयो । उहाँले यसै वर्ष काँडे तारले घेराबेरा गर्ने जानकारी दिनुभयो । हाम्रो मुख्य उद्देश्य भनेको किसानको खेतमा पानी पु¥याउँनु हो । त्यसका लागि त्यहाँ चार जना खटाइएको छ ।