धनुषाको प्रसिद्ध राजदेवी मन्दिरबाट सुनको मुकुटसहित मुर्ति चोरी

|

विजयकुमार साह
ढल्केवर, धनुषा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राती चोरी भएको छ । मन्दिरबाट राजदेवी भगवानको मुर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख रुपियाँ मुल्यबराबरको सामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले बताउनुभयो । उहाँले राती १२ बजे चोरी भएको जानकारी दिनुभयो ।

महेन्द्रनगर–जनकपुर सडकसँगै टाँसिएर रहेको ऐतिहासिका राजदेवी मन्दिर निकै प्रसिद्ध छ । ऐतिहासिक तथा धार्मिक राजदेवी मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीररुपमा लिएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले तत्काल चोरलाई पक्राउ गरी कारवाही गर्न प्रहरीसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटेको बताउनुभयो ।