विजयकुमार साह
ढल्केवर, धनुषा
जिल्ला प्रहरी कार्यालय धनुषाले फरार प्रविादी पक्राउ अभियान सञ्चालन गरेको छ । प्रहरीले शुरु गरेको यस अभियानअन्तर्गत दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट ३५४ जना फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फछर्यौटका लागि अदालतमार्फत कारागार पठाइएको छ ।
प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयको निर्देशनअनुसार फरार प्रतिवादी खोजतलास तथा कारवाही अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए । अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको उहाँले जानकारी दिए ।
उनका अनुसार कर्तव्य ज्यान, सवारी ज्यान, ठगीलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका तथा आरोपित फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । यसका लागि एक प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाइएको छ ।
प्रहरी चौकीलगायत अन्य प्रहरी युनिटबाट पनि जनशक्ति परिचालन गरेर फरार प्रतिवादी खोज्ने र पक्राउ गरी कानुनी दायराभित्र ल्याउने काम भइरहेको छ । यो अभियान निरन्तर चलिरहन्छ, प्रहरी उपरीक्षक खडकाले भने ।
चालू आर्थिक वर्षको साउन १ देखि फागुन १८ गतेसम्ममा विभिन्न मुद्दाका ६४६ जना फरार प्रतिवादी पक्राउ परेका छ । जसमध्ये आफू पुस तेस्रो साता यस जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले यता ३५४ जना फरार प्रतिवादी पक्राउ परेको छ ।
आफू यहाँ आएदेखि नै फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएपछि दुई महिनाको अवधिमा त्यतिको सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौं । फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने रणनीतिसमेत बनाएका छौं । आफू अपराध नियन्त्रणका लागि खरो उत्रने, प्रहरी निरीक्षक खड्काले सुनाए ।
पक्राउ परेकालई अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागर तथा थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिप्रकाले जानकारी दिएको छ ।