धनुषाको हारसरमा धनबर्षा महायज्ञको तयारी तीव्र

|

विजयकुमार साह
महेन्द्रनगर, धनुषा

देश समृद्धिको कामना हेतु नेपालमा पहिलो पटक हुन लागेको नौ कुण्डीय अखण्ड धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञको तयारी तीव्र पारिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा यो यज्ञ हुन लागेको हो ।

लक्ष्मीनियाँ, मिथिला बिहारी र क्षीरेश्वरनाथ नगरपालिकाको संयुक्त आयोजनामा फागुन २६ देखि चैत ४ गतेसम्म यज्ञ हुने साधक तथा आचार्य मनोज यादवले बताए ।

देशको अर्थतन्त्रमा सुधार, देशको उत्थान र मानव कल्याण हेतु यो यज्ञको आयोजना गरिएको उहाँले जानकारी दिए ।
त्रेतायुगमा खडेरीका कारण मिथिला राज्यको अर्थ व्यवस्था कमजोर भएपछि राजा जनकले अखण्ड धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञ गर्नुभएको थियो । यज्ञ पश्चात राजा जनक हलो जोत्दाखेरी माता सीता प्रकट भएको र त्यसपछि पुनः मिथिला राज्य समृद्ध भएको साधक मनोजको भनाई छ ।

यो यज्ञ भारतको थुप्रै स्थानमा आयोजना गरिएको भएपनि नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको दाबी उनले गरे ।
साधक मनोजले सुख, शान्ति र लोककल्याणको कामना गर्दै २१ औं पटक घटस्थापनादेखि नवमीसम्म निराहर ब्रत बसेर शरीरमाथि जमरा उमार्नु भएको छ । सप्तरीको राजविराज घर भएका ३६ वर्षिय मनोज हाल धनुषाको कमला नगरपालिका–९, लिलावतीमा आश्रम बनाएर बस्दै आएका छन् ।

यज्ञ व्यवस्थापन समितिका अध्यक्ष जानकीशरण यादवलले लक्ष्मीनियाँ, मिथिला बिहारी र क्षीरेश्वरनाथ गरी तीन वटा स्थानीय तहको संयुक्त आयोजनामा यज्ञ हुने हुँदा तीनवटै स्थानीय तहको सँगमस्थल हारसरमा यज्ञको तयारी अन्तिम चरणमा रहेको बताए ।

यज्ञ मण्डप, विभिन्न देवीदेउताका मुर्ति निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउँदै उहाँले यज्ञमा क्राँकी प्रदर्शन र कुस्ती प्रतियोगिता हुने उहाँले जानकारी दिए ।