रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

|

धनुषा
धनुषाको कमला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

कमला नगरपालिका वडा नम्बर–२ माची झिट्कैयामा भएको सो झडपमा एक पक्षले अर्को पक्षमाथि बाँसको फट्टा र बियरको बोतल प्रहार गर्दा दुई जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेहरूमा स्थानीय २४ वर्षीय अस्निश कुमार प्रभाकर र सोही ठाउँ बस्ने ५० वर्षीय हिरालाल यादव रहेका छन् ।

पुरानो रिसिइबिको कारण होली पर्वको मौका छोपेर कमला नगरपालिका–२ का पूर्ववडाध्यक्ष धनेश्वर यादव, उनका २० वर्षीय छोरा बिमलेश यादव र स्थानीय ३४ वर्षीय रबिन यादवले दुबैजनामाथि बाँसको चिरपट तथा बियरको बोतल प्रहार गरेको अस्निशका पिता दिलिप कुमार यादवले जानकारी दिए ।

घाइते हिरालाई १७ वटा र अस्निशलाई ७ वटा टाँका लगाइएको यादवले बताए । घाइते दुवैजनाको अहिले जानकी हेल्थ केयर हस्पिटल जनकपुरधाममा उपचार भइरहेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनालाई दबाउन खोजिएको छ । ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी माची, प्रहरी चौकी तिनकोरिया, सशस्त्र प्रहरी बल दुबरकोटबाट समेत सुरक्षाकर्मीहरु आएर झगडा रोकेका थिए । यद्यपी, धनुषा प्रहरीले सो घटनाबारे केही जानकारी नभएको भनेर प्रतिक्रिया दिएपछि राजनीतिक दबाबले घटना लुकाउन खोजिएको बुझिएको छ ।