धनुषाको हारसरमा धनबर्षा महायज्ञ शुरु, आज कलश यात्रा

|

ढल्केवर, धनुषा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा आज (शुक्रबार) देखि नौ कुण्डीय अखण्ड धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञ शुरु हुँदैछ ।

भव्य कलश यात्रा गरेर यज्ञको शुभारम्भ गरिन लागेको बताइएको छ । यज्ञका साधक तथा आचार्य मनोज यादवका अनुसार आज ११ हजारको खंख्यामा कलश यात्रामा सहभागी हुने बताए । पर्शुराम कुण्डबाट कलश बोकेर हारसर, सिरसिया र हर्दिनाथको परिक्रमा गरी यज्ञस्थलमा राखिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

लक्ष्मीनियाँ, मिथिला बिहारी र क्षीरेश्वरनाथ नगरपालिकाको संयुक्त आयोजनामा फागुन २६ देखि चैत ४ गतेसम्म यज्ञ हुनेछ । देशको अर्थतन्त्रमा सुधार, देशको उत्थान र मानव कल्याण हेतु यो यज्ञको आयोजना गरिएको साधक मनोजले जानकारी दिए ।

त्रेतायुगमा खडेरीका कारण मिथिला राज्यको अर्थ व्यवस्था कमजोर भएपछि राजा जनकले अखण्ड धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञ गर्नुभएको थियो । यज्ञ पश्चात राजा जनक हलो जोत्दाखेरी माता सीता प्रकट भएको र त्यसपछि पुनः मिथिला राज्य समृद्ध भएको साधक मनोजको भनाई छ ।


यज्ञ व्यवस्थापन समितिका अध्यक्ष जानकीशरण यादवलले लक्ष्मीनियाँ, मिथिला बिहारी र क्षीरेश्वरनाथ गरी तीन वटा स्थानीय तहको संयुक्त आयोजनामा यज्ञ हुने हुँदा तीनवटै स्थानीय तहको सँगमस्थल हारसरमा यज्ञको तयारी अन्तिम चरणमा रहेको बताए ।

यज्ञ मण्डप, विभिन्न देवीदेउताका मुर्ति निर्माणको कार्य सम्पन्न भएको बताउँदै उहाँले यज्ञमा क्राँकी प्रदर्शन र कुस्ती प्रतियोगिता हुने उहाँले जानकारी दिए ।