शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेलको प्रदर्शन (भिडियोसहित)

|

ढल्केवर, धनुषा

भारत जलन्धरका ४५ वर्षिय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसर सिर्सियामा भइरहेको नौ कुण्डीय अखण्ड धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञस्थलमा शनिबार उहाँले त्यस्तो खेल प्रदर्शन गरेको हो ।

साहसिक खेल देखाउने क्रममा अलीले स्वराज कम्पनीको चार हर्स पावरको ट्याक्टरको चक्का आफ्नो शारीरमाथि चढाउनु भएको थियो । त्यसअघि उहाँले ट्याक्टरको वेगलाई धकेर रोकेका थिए ।


विगत २८ वर्षदेखि यस्तो साहसिक खेल प्रर्दशन गर्दै आएको अलीले बताए । नेपाल र भारतको विभिन्न स्थानमा आयोजना हुने मेला उत्सवमा यो खेल प्रदर्शन गर्दै आएको उहाँले जानकारी दिए ।

कानले ट्याक्टरको इन्जिन तान्ने र बाहुलामा डोरी बाँधेर छ वटा मोटरसाइकल तान्ने गरेका अलीले सुनाउँदै भने, अहिलेसम्म कुनै किसिमको अप्रिय घटना भएको छैन । मेला उत्सवमा यसरी आफ्नो साहसिक खेल प्रदर्शन गरेर उहाँले नाम र दाम दुबै कमाई गरिरहेका छन् भने मेलाको रौनकसमेत बढ्ने गरेको छ ।