ढल्केवर, धनुषा
लगातार २१ वर्षदेखि दशैंमा घटस्थापनादेखि नवमीसम्म निराहर ब्रत बसेर शरीरमाथि जमरा उर्मादै आउनु भएका साधक मनोज यादव धुमावती साधना गरेर सबैलाई चकित पार्नुभएको छ ।
उहाँ धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसर सिर्सियामा शुक्रबारदेखि भइरहेको नौ कुण्डीय धनबर्षा लक्ष्मीनारायण बिष्णु महायज्ञस्थलमा धुमावती साधनामा बस्नु भएको छ ।
यज्ञको प्रमुख पुजारीसमेत रहनु भएका मनोज प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म धुमावती साधनामा बस्नुहुन्छ । नौ दिनसम्म अग्नी साधनामा बस्ने उहाले बताउनुभयो ।
सप्तरीको राजविराज घर भएका ३६ वर्षिय साधक मनोज धनुषाको कमला नगरपालिका–९, लिलावतीमा आश्रम बनाएर बस्दै आउनु भएको छ । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउँदै उहाँले नेपालमा पहिलो पटक यो साधना गरेको सुनाउनुभयो ।
सुख, शान्ति र लोककल्याणको कामना गर्दै महायज्ञ तथा धुमावती साधना गरेको बताउँदै साधक मनोजले यस अतिरिक्त पानीमाथि हिड्ने र आगोमाथि बसेर साधना गर्न सकिने दाबी गर्नुभयो ।
कुनै दैवीय शक्ति र तान्त्रिक विधाबाट नभई साधनाबाट प्राप्त शक्तिको आधारमा आफूले त्यस्तो गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म कुनै नयाँ कार्य गरेको होइन्, सनातनकालमा ऋषिमुनि, ज्ञानी, ध्यानी तथा राजा महाराजाहरुले आफूलाई गहिरो समाधिमा लैजानुहुन्थ्यो, आत्मविश्वास बढाउन तथा मनलाई भड्किन नदिन यो विद्या प्रयोगमा ल्याउनुहुन्थ्यो, त्यसैले प्राचीन कालमा यसलाई प्राण विद्या तथा त्रिकाल विद्या पनि भनिन्थ्यो ।
नेपाल ऋषिमुनीहरुको देश भएको र ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् । राजा जनकले पनि यस किसिमको तपस्या गर्नुहुन्थ्यो, साधक मनोजले भन्नुभयो ।
तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु हो । नेपालीको दुःख हटोस्, देशमा सुख र शान्ति आवस् भनेर त्यसकै निम्ति बेला–बेला महायज्ञ र तपस्या गर्दै आएको उहाँले बताउनुभयो । गोरखापत्रबाट