‘भावी पुस्ताको जीवन सुरक्षार्थ विरुवा रोप्नु आवश्यक’

|

विजय साह
ढल्केवर, धनुषा

अन्तराष्ट्रिय वन दिवसको अवसरमा मंगलबार धनुषाको जटहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा वृक्षरोपण गरिएको छ । वन निर्देशनालय मधेश प्रदेशको आयोजना तथा सव डिभिजन वन कार्यालय धनुषा, मिथिला वाइल्ड लाइफ ट्रस्ट र जनकपुर वन प्राविधिक समाजको सह आयोजनामा वृक्षरोपण गरिएको हो ।

मधेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले वृक्ष रोपेर वुक्षरोपणको शुभारम्भ गरेका थिए । मन्त्री यादवले वृक्षरोपण गर्दैे मानव अस्तित्व रक्षाका लागि कम्तीमा एक जनाले एउटा भएपनि विरुवा रोप्नुपर्ने बताए । आफू र भावी पुस्ताको जीवन सुरक्षित राख्न र रुखविरुवा, वनजङ्गल र जैविक विविधताको संरक्षण आवश्यक भएको बताउँदै उहाँले मानव जीवनका लागि रुखविरुवा नभई बाँच्न नसकिने भने ।  मन्त्री यादवले वृक्षरोपणका साथै दिगो व्यवस्थापनमा ध्यान दिनपर्ने भन्दै घेराबन्दी, सिँचाई र रेखदेखको उचित व्यवस्थापन गरिनुपर्ने बताए ।


वृक्षरोपण कार्यक्रममा मधेश प्रदेश वन निर्देशनालयका महासचिव सुरेश शर्माले भावी पुस्ताको सुरक्षित भविष्यका लागि वनको महत्वबारे आम मानिसलाई शिक्षित तुल्याउन अन्तराष्ट्रिय वन दिवसको अवसरमा वृक्षरोपणको आयोजना गरिएको बताए ।

समाजका विभिन्न तह तप्का र नागरिक समाज मिलेर वन संरक्षण र हरियाली वृद्धिको सवालमा एकजुट भइ पर्यावरण संरक्षणको मुद्दालाई जोडदार आवाज उठाउनुपर्ने बताउँदै उहाँले आउने पुस्ताका लागि पर्याप्त प्राकृतिक अक्सिजनको भण्डार बनाउन हरियाली वृद्धि मात्र एक विकल्प रहेको भने ।

सीमा क्षेत्रको नेपालतर्फको भू–भाग गरिएको वृक्षरोपण कार्यक्रममा मधेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारी, प्रदेश सभासदस्य रामअशिष यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, धनुषाका एसपी विश्वराज खड्का, प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जैसवाललगायत नेपाल तथा भारतका पर्यावरण अभियन्ताहरुको उपस्थिति थियो ।