अरुण तेस्रो जलविद्युत आयोजनाको टावर निर्माणमा स्थानीय लगाएको रोक

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गर्न लागेको विद्युत प्रसारण लाइन स्थानीयले रोक लगाइएको छ । सम्बन्धित जग्गाधनीले काममा रोक लगाएको हो ।

जग्गाधनीहरुले आफूहरुलाई थाहा नै नदिई टावर निर्माण गर्न जेसिबी लगाएर खाल्टो खन्न थालेपछि काममा रोक लगाएको बताए । टावर निर्माण गर्न लागिएको जग्गाको उचित मुआब्जा नपाएको र तारमुनिको जग्गाधनीसँग कुनै सम्झौता नै नगरिएको उनीहरुले जानकारी दिए ।

हामी जग्गाधनीसँग कुनै सहमती नै नगरी डोजर ल्याएर खाल्टो खन्न थालेपछि निर्माण कार्यमा रोक लगाएका हौं । हाम्रो जग्गा अधिग्रहण गरिए नगरिएको कुन–कुन जग्गा अधिग्रहण गरिएको केही थाहा छैन, मुआब्जा कति पाउने नपाउने त्यो पनि थाहा छैन । एक्कासी डोजर ल्याएर खाल्डो खन्न थाल्यो, जग्गाधनीहरुले भने ।

तारमुनि पर्ने जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुन नसक्ने र बैंकलगायत कुनै पनि वित्तिय संस्थाले घितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध पाउनुपर्र्ने जग्गाधनी माग छ ।

एसजेभिएन अरुण पावर डेभलपमेन्ट कम्पनीले अरुण तेस्रो जलविद्युत आयोजनाबाट ४०० मेगावाटको डबल सर्किट विद्युत प्रसारण लाइन निर्माण गर्न लागेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ढल्केवरस्थित विद्युत सवस्टेशनमा जोड्न टावर निर्माण गरिरहेको छ ।

टावर निर्माण कार्यअन्तर्गत मिथिा नगरपालिका वडा नं. ६ र ७ मा गरि १८ वटा टावर निर्माण गर्नुपर्ने छ । जसमध्ये १५ वटा टावर निर्माण भइसकेको छ भने तीन वटा टावर निर्माण गर्न बाँकी छ । मुआब्जा विवादकै कारण टावर निर्माण रोकिएको बताइएको छ ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो र वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर स्याङ्गदनले टावर निर्माण गर्न अधिग्रहण गरिएको जग्गा र तारमुनीको जग्गामा विवाद देखिएपछि तत्काललाई काम रोकेर समाधान खोज्न भनिएको बताए ।

निर्माण कम्पनीले स्थानीय तहसँग पनि कुनै किसिमको समन्वय नगरेको जानकारी दिए । जुन ठाउँमा काम भइरहेको छ त्यो ठाउँको जनप्रतिलाई र समन्वय त गर्नुपर्छ नि निर्माण कम्पनीले कुनै मतलब नै नगरेको वडाध्यक्ष रामबहादुरले बताए ।

उत्पन्न विवाद समाधानका लागि धनुषाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिने उनले भने ।