
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजमा रहेको हिमालय युवा क्लबको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
‘आत्मालाई साक्षी राखी मन वचन र कर्मले सेवा गरौं’ भन्ने भावनाले स्थापना भएको क्लबको साधारणसभा शनिबार क्लबको प्राङ्गणमा सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष शिवराम महतोको अध्यक्ष्ता तथा मधेश सरकारका पूर्व वनमन्त्री सत्रुधन महतो र प्रदेश सांसद हरिनारायण महतोको प्रमुख आतिथ्य सम्पन्न साधारणसभा अधिकांश वक्ताहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार र समाज परिर्वतका क्षेत्रमा क्लबले गर्दै आएका राम्रा कामको चर्चा गरेका थिए ।
समाजमा सकारात्मक परिर्वतन महत्वपूर्व भूमिका निर्वाह गरेको यसले गर्दा आम जनसमुदायमा निकै फाइदा पुगेको भन्दै उनीहरुले क्लबको प्रशंसा गरेका थिए ।
क्लबले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रमा २१ जनाले रक्तदान गरेका थिए ।
सोही अवसरमा २०७८ सालको एसईईको परिक्षामा वडामै बढी अङ्क ल्याएका छात्र कृष्ण महतो र छात्रा विनिता महतोलाई जगिया जैलाल स्मृति शिक्षा पुरस्कारबाट सम्मान गरेको छ । उनीहरुलाई जनही पाँच हजार नगदले सम्मान गरेको छ ।
नकटाझिजका अधिवक्ता डा. कालेश्वर महतोले आफ्नो आमाबाबुको सम्झना जगिया जैलाल स्मृति शिक्षा पुरस्कार कोषको स्थापना गरेको छ । सो कोषले वडामा बसोवास गरिरहेका विद्यार्थीले एसईई परिक्षामा बढी अङ्क ल्याउनेलाई प्रत्येक वर्ष नगद पाँच हजार रुपियाँ प्रदान गरेर सम्मान गर्दै आएको छ ।
साधारणसभामा मिथिला नगरपालिका नगरप्रमुख महेन्द्र महतो, वडाध्यक्ष बिहारी महतो, क्लबका पूर्व अध्यक्ष एवं संरक्षक अरुणकुमार महतो, उपाध्यक्ष विनोद महतो, जनता मावि नकटाझिज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोलगायत स्थानीय समाजसेवी तथा बुद्धिजीविको उपस्थिति थियो ।