पूर्व अर्थमन्त्री खतिवडाद्वारा कृषि वनको अवलोकन

|

ढल्केवर, धनुषा

पूर्व अर्थमन्त्री युवराज खतिवडा धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा रहेको कृषि वनको अवलोकन गरेका छन् ।

कृषि वन अवलोकन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले यस प्रकारको खेतीले खाली जग्गाको सदुपयोगसँगै अन्नबालीको उत्पादनमा बढोत्तरी र हरियालीमा वृद्धि हुने बताए । उनले यस प्रकारको खेती प्रणालीलाई प्रोत्साहन गर्न सुझाव दिँदै अझ व्यवस्थित गर्न सल्लाह दिए ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र मिथिला नगरपालिकाको सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) धनुषाले कुसुमबिछौनास्ति बडहरी खोलाको नदी उकास जग्गामा कृषि वन लगाएको छ ।

सिआईसी धनुषाले कृषि वनको अवधारणमा कुसुमबिछौनाका ६५ भूमिहिन किसान परिवारलाई तरकारी खेतीका लागि उक्त नदी उकास जग्गा उपलब्ध गराएको छ । सिआईसीले कोरोना प्रभावित र वैदेशिक रोजगारीबाट फर्किएका भूमिहिनलाई रोजगारी प्रदान गर्ने उद्देश्यले भूमिहिन किसान परिवारलाई ५ कठ्ठाका दरले जग्गा उपलब्ध गराएको छ ।

उनीहरुलाई जग्गा उपलब्ध गराउनुका साथै उत्पादनका लागि चाहिने बिउबिजन, मलखाद र कृषि उपकरणसमेत सिआईसी धनुषाले उपलब्ध गराउँदै आएको छ ।

कृषि वन अवलोकन गर्न आएका पूर्व अर्थमन्त्री खतिवडालाई सिआईसी धनुषाका अध्यक्ष सञ्जयकुमार साहले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएको थियो । अवलोकनको क्रममा युएनडिपीका पदाधिकारी, मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकी र किसानको उपस्थिति रहेको थियो ।


कृषि वन अवलोकनपछि अर्थमन्त्री खतिवडा मिथिला नगरपालिकाको कार्यालयमा समेत आएका थिए । उनले मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सिंहलाई महत्वपूर्ण सल्लाह सुझाव दिएका थिए ।