सामुहिक मुद्दा दर्ता गराउन नागरिकताविहिनको कागजात सङ्कलन

|

ढल्केवर, धनुषा

नागरिकताविहिन सङ्घर्ष समिति नेपालले सोमबार धनुषामा रहेका नागरिकता विहिनहरुको कागजात संकलन गरेको छ । सर्वोच्च अदालतमा एकै पटक मुद्दा दर्ता गराउन नागरिकता विहिनहरुको कागजात संलकन गरिएको हो ।

जिल्लाको वीरेन्द्र बजार, ढल्केवर, महेन्द्रनगर र जनकपुर पुगेर कागजात तथा हस्ताक्षर सङ्कलन गरेको छ ।

सङ्घर्ष समितिले सर्वोच्चमा मुद्दा हाल्ने, नागरिकता विधेयक–२०७९, शीघ्र प्रमाणीकरण र नेपालको संविधानको धारा १० र ११ को उपधाराहरु ३ र ५ अक्षरस कार्यान्वयन गराउन पनि कागजात तथा हस्ताक्षर सङ्कलन गरिरहेको बताइएको छ ।

यसका लागि समितिले मेची–महाकाली यात्रा अभियान सुरु गरेको छ । शुक्रबार झापाबाट यस अभियानको सुरुवात भएको सङ्घर्ष समतिका अध्यक्ष ईन्द्रजीत साफीले बताउनुभयो ।

जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तान र एकल आमाका सन्तान गरी देशमा करिब ११ लाख मानिस नागरिकताबाट बञ्चित रहेको उहाँले जानकारी दिनुभयो । आमाबाबुको नेपाली नागरिकता भएपनि कानुन अभावमा सन्तानले नागरिकता पाउन नसकेको उहाँको भनाइ छ ।

सङ्घर्ष समितिले विगत तीन वर्षदेखि जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तान र एकल आमाका सन्तानलाई नागरिकता दिलाउन सङघर्षरत रहेको छ । नागरिकता विधेयक पास गराउन र विभिन्न चरणमा सडक आन्दोलनलगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउने जस्ता काम गर्दै आएको छ ।

कानुनी बाटोबाटै नै समस्याका समाधान खोज्न नागरिकता विहिनहरुको कागजात तथा हस्ताक्षर अभियान चलाइएको अध्यक्ष साफीले बताउनुभयो ।