
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा तयारी पोशाक तथा बुटिक व्यवसाय गर्दै आउनु भएकी जीवनकुमारी क्याप्छाकी मगरलाई मधेश प्रदेशको उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरिएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले उहाँलाई मधेश प्रदेशको उत्कृष्ट महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको हो । काठमाडौंको चावहिलमा महासंघको तेस्रो वार्षिक साधारण सभाको अवसरमा जीवनकुमारीलाई ‘मधेश प्रदेश उत्कृष्ट महिला उद्यमी–२०७९’ ले सम्मान गरिएको बताइएको छ ।
राष्ट्र समृद्धिको एक आधार उद्यमशिलता क्षेत्रमा क्रियाशील रहँदै सीपमूलक कार्यलाई सवल, सक्षम र प्रभावकारीरुपमा सञ्चालन गरेर आम महिलालाई प्रेरणा प्रदान गरेकाले उहाँलाई सो सम्मान प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
उत्कृष्ट महिला उद्यमीको सम्मान पाउनु भएको जीवनकुमारीले यो सम्मानले उद्योग सञ्चालन गर्न अझै हौसला प्रदान गरेको बताउनुभयो ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुर घर भएकी जीवनकुमारीले विगत आठ वर्षदेखि ढल्केवरस्थित पूर्व चोकमा तयारी पोशाक तथा बुटिकको व्यवसाय गर्दै आउनु भएको छ । त्यसअघि चार वर्ष काठमाडौंमा रहेर सो व्यवसाय गर्दे आउनु भएको थियो ।