बर्षा अगावै धनुषाधामकी शिलालाई डुबानको चिन्ता

|

ढल्केवर, धनुषा

धनुषाको धनुषाधाम नगरपालिका–२, काशीपुरकी ५४ वर्षीया शिलादेवी मुखिया बर्षा अगावै डुबानको चिन्तामा परेकी छन् । बर्षाको मौसम आउन लागेकाले विगतका बर्षामा डुबानका कारण झेल्नु परेको समस्यालाई सम्झैँदै उनी बर्षा अगाडि नै डुबानको चिन्तामा डुबेकी हुन् ।
बाटोदेखि झण्डै ढेड मिटर तल शिलाको सानो झोपडी छ । बर्षाको पानी निकास हुने कुनै माध्यम नभएकाले उनको घर प्रत्येक बर्ष बर्षाको मौसमभरी डुबानमा रहन्छ । गरिबीका कारण मुस्किलले पेट भर्ने गरेकी शिला आउँदो बर्षामा डुबानबाट उन्मुक्ति पाउन सबै सामु गुहार लगाएकी छन् ।

श्रीमान र एउटा छोरा भएपनि गरिबीका कारण उनीहरुले पनि साहारा दिन नसकेपछि एक्लै बस्दै आएकी शिला भन्छिन्, बर्षाको मौसमभरी चुलो डुबेको हुन्छ । भाडाकुडा, खानेकुरा सबै पानीले बगाउछ । सुत्ने खाट धरी पानीमाथि तैरिरहेको हुन्छ । बाँच्न कठिन भयो ।
श्रीमान सुकन मुखिया प्रालाइसिस रोगबाट ग्रसित छन भने आर्थिक अभावकै कारण आँखाको उपचार गराउन नसक्दा एउटा आँखा गुमाउनु परेको छ । त्यस्तै छोरा अण्डाशयका गम्भीर बिरामी छन् शिलाले सुनाइन् ।


बर्षेनीको डुबानबाट पिडित बनेको उनले बर्षाको पानी निकास अथवा आफ्नै झोपडी मर्मतका लागि स्थानीय तहका जनप्रतिनिधिसमक्ष अनुनय विनय गर्न तीन छ महिनादेखि पैताला खियाउँदै आएकी छन् । तर कसैले नसुनेको शिलाको भनाइ छ ।
धेरै पटक वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष लक्ष्मी साहले नगरपालिकाको नाममा एउटा चिठ्ठी लेखिदियो । त्यो चिठ्ठी लगेर धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकी अधिकृतलाई दिएँ । उनले त्यो चिठ्ठी हेर्न बित्तिकै फालिदियो । कोसँग सहयोग माग्नु, कुनै–कुनै बेला त मरौं मरौं जस्तो लाग्छ । गरिबलाई हेर्ने यहाँ कोही छैन ।

सहयोगको कुनै सीप नलागेपछि धनुषाधामकी समाजसेवी तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी मन्जु महतो भर परेकी छन् । मन्जु महतोले शिलाको समस्या समाधान गर्न एक पटक फेरि जनप्रतिनिधि समक्ष पहल गर्ने र नभए इस्टमित्र र गाउँघरमा चन्दा संकलन गरेर भएपनि झोपडी मर्मत गरिदिने बताइन् । धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिले समाज रुपान्तरणको काम गर्न नसकेको आरोप लगाइन् ।

मधेश प्रदेश र संघीय सरकारले विपन्नहरुका लागि जनता आवास योजनाअन्तर्गत घर बनाइ दिने गरेको भएपनि धनुषाधाम नगरपालिकामा यो योजना लागू भएको छ । धनुषाधाम नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख मनोजकुमार यादवले अन्य पालिकामा विपन्नलाई व्यवस्थित बसोबासका निम्ति जनता आवास योजनाको काम भइरहेको भएपनि यो पालिकामा यो योजना लागू नभएको बताए ।