
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ स्थित हरिहरपुर हुँदै क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर जोडिने मार्गमा कालोपत्रे सडकको निर्माण कार्य सुरु भएको छ । उक्त सडक खण्डको पहिलो चरणको काम शुक्रबारबाट सुरु भएको हो ।
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेश सरकारका पूर्व वनमन्त्री सत्रुधन महतो, प्रदेश सांसद शेषनारायण यादव र मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले संयुक्तरुपमा शिलान्यास गरेपछि कालोपत्रे सडक निर्माणको काम सुरु भएको हो ।
सहमहान्त्री यादव र नगरप्रमुख महतोको पहलमा संघीय सरकारले हरिहरपुर–महेन्द्रनगर सडक कालोपत्रे गर्न बजेट बिनियोजन गरेको बताइएको छ ।
पहिलो चरणमा ९७ लाख रुपियाँको लागतमा ७ मिटर चौडार र ४४५ मिटर लम्बाईमा कालोपत्रे सडक निर्माण हुने नगर प्रमुख महतोले जानकारी दिए । उनले आउँदो आर्थिक वर्षमा थप बजेट बिनियोजका लागि पहल गरिने बताउँदै नगरपालिकाको सीमासम्म कालोपत्रे सडक निर्माण गर्ने बताए ।
उक्त सडक निर्माणको ठेक्का आकृति निर्माण कम्पनीले पाएको छ । जेष्ठ १५ गतेसम्म सडक निर्माणको कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।