प्रदेशका मन्त्रीले नै भने– प्रदेश संरचना आवश्यक छैन

|

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश संरचना आवश्यक नरहेको बताएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अनावश्यक खर्चिलो संरचनाले कुनै प्रतिफल दिन नसकेको बताए ।

गुरुङले पुस २५ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए । गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक सूचीबाट संसद् बनेका हुन् ।

‘मन्त्रालय सम्हालेको अनुभव नभएको साथीले त संघीयता  ठिक भन्ला । तर, जसले कुर्सीमा बसेर अनुभव लियो, ती साथीले छातीमा हात राखेर भन्ने हो भने प्रदेश संरचना खर्चिलो रहेछ,’ मन्त्री गुरुङले भने, ‘किनभने प्रदेश सरकारलाई अङ्कुश लगाउने काम भएको छ । हरेक कुरा हामी केन्द्रसँग निर्भर हुनुपर्छ । केन्द्रकै आदेश मान्नुपर्छ । बीचमा हामीहरू झुन्डिएर किन बस्ने ?’

प्रदेश संरचना खारेज गरेर स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । उनले प्रदेश सरकार ‘मगन्ते’ भएको पनि बताए । ‘प्रदेश सरकार मागेर खाने सरकार भएको छ । प्रदेशको आयआर्जन केही पनि छैन । गण्डकी प्रदेश सरकारको हिसाब गर्ने हो भने आम्दानी भनेको १२÷१३ प्रतिशत मात्र हो । अरू बजेट केन्द्रसँग माग्नुपर्छ,’ उनले भने ।

मन्त्रीहरूले झण्डामात्र हल्लाएर अर्ब खर्च गरिरहेको उनले सुनाए । ‘हामी यो झण्डा हल्लाउँदै हिँड्दा अर्ब खर्च हुन्छ । त्यो पैसा शिक्षा, स्वास्थ्यमा लगानी गरियो भने छिटो विकास हुन्छ,’ मन्त्री गुरुङले भने, हामी आर्थिक रूपले सम्पन्न भएको भए त्यो पनि हुन सक्छ होला । तर, हामी आर्थिक रूपमा कमजोर छौँ । यति धेरै खर्च गरेर पालेर राख्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

पूर्वदेखि पश्चिम हेलिकोप्टर वारपार गर्न एक घण्टामात्र लाग्ने र उत्तरदक्षिण आधा घण्टामा पुग्न सकिने भएकाले प्रदेश संरचना आवश्यक नभएको उनको भनाइ छ । ‘यति सानो देश छ । केन्द्र सरकारले स्थानीय सरकारलाई हक अधिकार दियो भने प्रदेश सरकारचाहिँ आवश्यक छैन,’ उनले भने । साभार ः रातोपाटी