मधेशको खोला चाइनीज ठेकेदारको मनपर्दी

|

सिरहा ।
महेन्द्र रामार्ग स्तरोन्नतीको ठेक्का पारेर कमला – कञ्चनपुर सडक खण्डको स्तरोन्नती कार्य गरिरहेको छिमेकी मुलुक चिनको चाईना रेलवे नम्बर – २ ईञ्जिनियरिङ् ग्रुप कम्पनि लिमिटेडका मधेश प्रदेशको सिरहा र सप्तरीमा अवैध उत्खननलाई तिब्र पारेको छ । स्थानिय तहका प्रमुख , उपप्रमुख , पालिकाका प्रमुख प्रशासकिय अधिकृत , ईञ्जिनियर , प्रमुख जिल्ला अधिकारी , प्रहरीप्रशासनलाई प्रभावमा पारेर चिनियाँ रेलवेले मापदण्ड बिपरित अबैध उत्खनन् तिब्र पारेको बताईएको छ । यसबारे सबै जानकार भएपनि सम्बन्धित निकायको मौनता शंकास्पद रहेको सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको भनाई छ ।

समन्वय समिती प्रमुख महतोले सिरहाको कर्जन्हा नगरपालिका , मिर्चैया नगरपालिका , नरहा गाउँपालिका , गोलबजार नगरपालिका , धनगढी नगरपालिकामा चिनियाँ रेलवेले यतिबेला अवैध उत्खनन् तिब्र पारेको छ । यसअघि लहान नगरपालिकामा पर्ने सरे देखि चुरे सम्म अवैध उत्खनन् गर्दा समन्वय समितिले उत्खननमा प्रयोग गरिएको जेसिवि नियन्त्रणमा लिएर चाईना रेलवेलाई जरिवाना तिराएको थियो ।


जिल्ला समन्वय समितीका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलो मिटर दुरीमा उत्खनन् गर्ने सम्झौता भएपनि चाईना रेलवेले १३ फिट सम्म गहिराई गरेर उत्खनन् गरिएको भेटिएपछी पटकपटक गरेर चाईना हाईवेलाई १२ लाख जरिवाना गराएको थियो ।
हाल कर्जन्हा नगरपालिकाको कमला खोला , मिर्चैया , नरहा , धनगढी र गोलबजार क्षेत्रमा ब्यक्तिको निजि जग्गा भाडामा लिएर रातारात उत्खनन गरिदै आएको बताईएको छ । त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाईना रेलवेले उत्खनन् तिब्र बनाएको छ ।
अवैध उत्खनन् भईरहेको गोप्य सूचनाको आधारमा सिरहाका प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरू र स्थानिय सञ्चारकर्मी सहित २ पटक अनुगमन गरिएको नदीजन्य तथा खानिजन्य उत्खनन् अनुगमन समितीका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितीका प्रमुख महतोले जनआस्थासँगको कुराकानीमा जानकारी दिए । उनले भने – “ कार्वाहीको दायरामा ल्याउने निकायले नै मौनता साँधेपछी उत्खनन् नरोकिएको हो ।
उत्खनन् अनुगमन समितीमा सदस्यका रूपमा प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरू , वन तथा भुक्षय कार्यालय लगायत कार्यलयका प्रमुखहरू सदस्य हुने ब्यवस्था छ ।
चाईना रेलवेका नेपाल प्रमुख उज्वल पौडेलले यश बिषयमा अनभिज्ञता जनाए । उनको भनाई थियो – “ उत्खननको बिषयमा मलाई जानकारी भएन ।“

महेन्द्र राजमार्गको १ हजार २७ किलो मिटर सडक स्तरोन्नती गर्न चाईना रेलवेले नेपाल सरकारसँग ग्लोवल टेण्डर पारेको थियो । जसअन्तर्गत अहिले कमला – कञ्चनपुर ४७ किलो मिटर सडक ग्रमिण क्षेत्रमा ४ लेन र शहरी क्षेत्रमा ६ लेनको स्तरोन्नती कार्य भईरहेको छ , जसको कूल बजेट ३ सय ५० करोड बताईएको छ । सरकारले यो सडक स्तरोन्नतीलाई राष्टिय गौरवको आयोजनामा समाबेश गरेको छ ।