सिरहा ।
महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाईना रेल्वे–२ इन्जिनियरिङ गुप्रले अवैध रुपमा उत्खनन गरेको पाइएको छ।
ठेक्काका लागि आवश्यक हुने रोडा, बालुवा र ढुंगा निर्वाध रुपमा अवैध उत्खनन गरेको स्थानीयहरुको आरोप छ। मधेश प्रदेशको सिरहा र सप्तरीमा चाईना रेल्वेले अवैध उत्खननलाई तिव्र पारेको हो तर सरोकारवाला निकायहरु मौन रहँदै आएको स्थानीयहरुको आरोप छ।
अवैध उत्खननबारे जानकारी भए पनि सम्बन्धित निकाय सबै मौन रहेको जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महत्तोले बताए। उनले यसरी मौनता राख्नु शंकास्पद भएको टिप्पणी गरे।
समन्वय समिति प्रमुख महतोका अनुसार सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढी नगरपालिकामा चिनियाँ रेल्वेले यसरी अवैध उत्खनन गरिरहेको छ।
लहान नगरपालिकामा पर्ने सरे देखि चुरेसम्म अवैध उत्खनन् गरिरहेको देखेपछि जिससले प्रयोग गरिरहेको डोजर(जेसिवी) नियन्त्रणमा लिइएर जरिवाना तिरेर छोडेको जिससप्रमुख महत्तोले बताए।
जिससका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलोमिटर दुरीमा उत्खनन गर्ने सम्झौता भएको थियो। तर चाईना रेल्वेले १३ फिटसम्म गहिराई गरेर उत्खनन गरेको भेटिएको छ। मापदण्ड र सहमति विपरीत अवैध उत्खनन गरेपछि चाईना रेल्वेलाई केही समय अघि १२ लाख जरिवाना गराएको थियो।
सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमनका क्रममा उत्खनन अवैध ठहरिएपछी बन्द गराएका थिए। ‘जिल्ला समन्वय समितिका प्रमुखको अगुवाईमा उत्खनन् र क्रसर उद्योगहरु अवैध पुष्टि भएपछि बन्द गराइएको थियो,’ उनले भने, ‘तत्कालीन समयमा अब नगर्ने शर्तमा जरिवाना पनि गराएर छोडिएको थियो।’
हाल कर्जन्हा नगरपालिकाको कमला खोला, मिर्चैया, नरहा, धनगढी र गोलबजार क्षेत्रमा व्यक्तिको निजी जग्गा भाडामा लिएर रातारात उत्खनन चाइना रेल्वेले गर्दै आएको छ। त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाईना रेल्वेले उत्खनन तीव्र बनाएको स्थानीयको आरोप छ।
अवैध उत्खनन भइरहेको स्थानीयको गुनासोपछि सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित २ पटक अनुगमन गरिएको नदीजन्य तथा खानिजन्य उत्खनन अनुगमन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख महतोले बताए।
‘कारबाहीको दायरामा ल्याउने निकायले नै मौनता साँधेपछि उत्खनन कसरी रोकिन्छ?,’ उनले भने, ‘यसमा किन कारबाही गरिएको छैन शैकास्पद नै छ।’ उत्खनन अनुगमन समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन तथा भू–क्षय कार्यालय प्रमुख रहने व्यवस्था छ। अवैध उत्खननबारे प्रश्न गर्दा चाईना रेल्वेका आयोजना प्रमुख उज्वल पौडेलले यस बारेमा कुनै जानकारी नभएको बताए। ‘उत्खननको विषयमा मलाई जानकारी भएन’, उनले भने।
महेन्द्र राजमार्गको १ हजार २७ किलो मिटर सडक स्तरोन्नति गर्न चाईना रेल्वेले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिँदै ठेक्का पाएको थियो। जसअन्तर्गत अहिले कमला–कञ्चनपुर ४७ किलो मिटर सडक ग्रामीण क्षेत्रमा ४ लेन र शहरी क्षेत्रमा ६ लेनको स्तरोन्नति कार्य भइरहेको छ। सरकारले यसलाई महत्त्वको योजनाको रुपमा राखेको छ।
अवैध उत्खननबारे प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिससले अनुगमन गरिरहेको र अवैध भएको पाइए कारबाही हुने बताए। ‘जिससले अनुमगन गरिररहेको छ, अवैध उत्खनन भएको हुनसक्छ। भएको पाइएमा जरिवाना र अन्य कारबाही हुन्छ,’ प्रजिअ खतिवडाले भने, ‘यस बारेमा जिससलाई जानकारी हुन्छ।’