ढाडीमा कमसल निर्माण सामग्रीको प्रयोग गरेर रातारात सडक ढलान

|

धनुषाको विदेह नगरपालिका–४, ढाडीमा कमसल निर्माण सामग्रीको प्रयोग गरेर रातारात सडक ढलान गरिएको रहस्य खुलेको छ । वडाध्यक्ष बाजिव प्रमाणीकै संलग्नतामा कमसल निर्माण सामग्रीको प्रयोग गरेर गत चैत ३० गते राती सडक ढलान गरेको बताइएको छ ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाखको लागतमा नर्माण गरिएको ढलान सडकमा माटो मिश्रित बालुवा, दुई नम्बर इँटा र ओपिसी सिमेन्ट ठाउँमा पिसिसी सिमेन्टको प्रयोग गरिएको स्थानीयको भनाइ छ ।

वडा कार्यालयदेखि हजमाको घरसम्म २३५ मिटर लम्बाई, १८ फिट चौडाई र ८ इन्च उचाईको सडक ढलान गर्नुपर्नेमा पनि हजमाको घरसम्म ढलान नगरिएको बताइएको छ ।

वडाध्यक्ष प्रमाणीले गोप्यरुपमा आफ्ना आसेपासे ब्रम्हदेव बिराजीलाई अध्यक्ष बनाएर नर्माण समिति गठन गरेर उक्त कार्य गरेको आरोप लगाइएको छ ।

समिति गठनको विषयलाई लिएर स्थानीयवासीले सम्बन्धित निकायमा उजुरीसमेत दर्ता गराएको थियो । तर, उजुरीमाथि कुनै सुनुवाई नभएपछिे स्थानीय प्रमिला देवी महराले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएको छ । उच्च अदालत जनकपुरले चैत २८ गते सो ठाउँमा बाटो निर्माण कार्य नगराउन भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको नाउँ उर्दी जारी गरेको थियो । अदालते उर्दी जारी गरेपनि अदालतको आदेशविपरित रातारात सडक ढलान गरिएको हो ।

स्थानीयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको रेडबुकमा ढलान सडकका लागि २५ लाख रुपियाँ उल्लेख गरिएको छ । तर, निर्माण समितिले सडक ढलानमा ४० लाख रुपियाँको एस्टिमेट बनाएर काम गरेको छ । भौतिक पूर्वाधर विकास कार्यालय जनकपुरका डिई बज्रेशलाल कर्ण, वडाध्यक्ष प्रमाणी र समितिका अध्यक्ष बिराजीले आर्थिक अनियमितता गर्न लागत खर्च र बढी देखाएको छ ।

यता, अदालतको आदेश विपरित सडक ढलान तथा आर्थिक अनियमितता भएको आरोप लगाउँदै स्थानीयवासीले उच्च अदालतमा अदालतको मानहानी गरेको भन्दै अर्को मुद्दासमेत दर्ता गराएको स्थानीयवासी सरोजकुमार महराले बताए ।