ढल्केवर, धनुषा
धनुषाको सबैला नगरपालिका–१२,सिर्खाटोलस्थित सडकमा टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनीका प्रयास गरेका छन् ।
प्रहरीका अनुसार सोमबार १ः३० बजेको समयमा प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरको ठक्करबाट सिर्खाटोलका ७ वर्षिय बालक रियान दनुवारको मृत्यु भएको छ । ठक्करबाट मृतक बालकको काकाको छोरी राधी कुमारी गम्भीर घाइते भएको छ । राधी कुमारीको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
बालकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त टिपरमा ढुङ्गामुढा प्रहार गरेर आगजनीको प्रसाय गरेको बताइएको छ ।
आगजनीबाट टिपरमा क्षति पुगेको छ । यता स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिने टिपर चालकलाई कडा कारवाहीको माग गरेका छन् ।