विजय साह
ढल्केवर, धनुषा
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी तलबभत्ताको माग गर्दै धर्नामा बसेपछि विद्यार्थी पनि आन्दोलित भएका छन् । विद्यार्थी भने नियमित कक्षा सञ्चालनको माग गर्दै आन्दोलन थालेका हुन् ।
विद्यार्थीले प्रधानाध्यापक र प्रशासन कक्षमा तालासमेत ताला लगाइदिएका छन् । प्रधानाध्यापक प्रमोदशरण केवटले नियमित पठनपाठन सञ्चालनमा तदारुकता नदेखाएपछि बिहीबार कार्यालय कक्षमा ताला लगाएको विद्यार्थीको भनाइ छ ।
पढाई ठप्प हुँदा अध्ययनमा असर परिरहेकोले तत्काल पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी उमाकुमारी महतोले बताउनुभयो । शिक्षक धर्नादेखि हाम्रो कुनै सरोकार नरहेको प्रस्टयाउँदै उहाँले विगत एक–डेढ वर्षदेखि राम्ररी पढाई नभएको जानकारी दिनुभयो ।
यता, नमूना अनुदान र निजी श्रोतका शिक्षक तथा कर्मचारी लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बैशाख २४ गतेदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् । विद्यालयका ५५ जना शिक्षकमध्ये दरबन्दीका शिक्षकबाहेक १९ जना शिक्षक तथा कर्मचारी धर्नामा बसेका छन् । तलबभत्ता नपाएसम्म धर्ना कार्यक्रम जारी रहने उहाँहरुको भनाइ छ ।
२०७८ साउन महिनादेखि तलब भत्ता नपाएको उहाँहरुको गुनासो छ । तलबभत्ता नपाउँदा साधारण जीवन यापन गर्नसमेत आर्थिक सङ्कट भएको दुखेसो शिक्षकहरुको छ ।
पहिलो चरणमा बैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थियौं । त्यसअघि तलबभत्ताको माग गर्दै मौखिक जानकारी, ज्ञापनपत्र र ध्यानाकर्षणपत्र पनि प्रधानाध्यापकलाई बुझाएका थियौं । यसरी पटकपटक तलबभत्ता माग गर्दासमेत बेवास्ता गरेपछि बाध्य भएर आन्दोेलनमा उत्रिनु परेको शिक्षकहरु बताउँछन् ।
शिक्षक धर्ना र विद्यार्थी आन्दोलनको विषयमा थप जानकारी जुटाउन तथा प्रतिक्रियाका लागि प्रधानाध्यापक केवटलाई सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । विद्यालय बाहिर गएको र मोबाइल बन्द रहेकाले उहाँसँग सम्पर्क हुन सकेनन् ।
बटेश्वर गाउँपालिका शिक्षा शाखाका प्रमुख रामलाल महतोले विद्यालयको निजी श्रोत र नमूना अनुदानका शिक्षक तथा कर्मचारीलाई स्थानीय तहबाट तलबभत्ता उपलब्ध गराउन नसकिने बताउनुभयो ।