परीक्षामा यादवहरुको रजाईं, मधेशमा समावेशिता र आरक्षण खरानी

|

सिरहा

शिक्षक परीक्षामा यादवहरुको रजाईं, मधेशमा समावेशिता र आरक्षण खरानी

सिरहाको नवराजपुर गाउँपालिकाले आधारभूत तहको निम्ति लिएको शिक्षक परीक्षाको नतिजा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सबै यादव थरका उम्मेदवार मात्र लिखित परीक्षामा पास भएको नतिजा सार्वजनिक भएपछि उक्त विषयले झस्काएको छ ।

नगरपालिकाले आधारभूत तह (१ देखि ५ कक्षासम्म) का लागि १७ जना विषयगत शिक्षक मागेको थियो । गत चैत २० गते शनिबार त्यसको लिखित परीक्षा भयो । छनौट समितिले अस्ति उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा ११ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा मनोजकुमार यादव,प्रदीपकुमार यादव, सरोजकुमार यादव, रञ्जनाकुमारी यादव, वरुणकुमार यादव,मञ्जुकुमारी यादव, बिनिताकुमारी यादव, रञ्जुकुमारी यादव, सन्तोषकुमार यादव, सुनिता यादव र उपेन्द्रप्रसाद यादव छन् ।

देवनाथ यादव संयोजक रहेको छनौट समितिले निकालेको नतिजा आलोचित भएको हो । संयोजक र उत्तीर्ण सबै उम्मेदवार यादव भएपछि ‘दालमा केही कालो भएको’ अनुमान लगाइएको छ । यद्यपि, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले त्यस्तो केही नभएको दाबी गरेका छन् ।

यादवहरुको बाहुल्यता भएको क्षेत्र भएकाले पनि त्यस्तो नतिजा आएको उनको जिकीर छ । उनका अनुसार दरखास्त दिएकामध्ये ९५ प्रतिशत यादव उम्मेदवार थिए । ‘नतिजाबारे त्यो केही मान्नुपर्दैन । यो यादवहरुको बाहुल्यता भएको क्षेत्र भएकाले ९५ प्रतिशत आवेदन उहाँहरुकै परेको थियो । १७ जना माग गरेका थियौं । पहिलो चरणमा १५ जना उत्तीर्ण हुनुभयो र दोस्रो चरणमा ११ जना । अबको केही दिनमै अन्तरवार्ता हुन्छ’, उनले भने ।

अधिकृत साहका अनुसार ६४ जनाले आवेदन दिएका थिए । तीमध्ये ५५ जनाले प्रवेश पत्र लिएको र ५३ जनाले परीक्षा दिएको उनी बताउँछन् । ५३ मध्ये ४० जना यादव रहेको उनको भनाइ छ । त्यस्तै, पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका १५ मध्ये १४ जना यादव र एक जना ठाकुर रहेको जानकारी पनि दिए ।

विज्ञहरुले कपी चेकजाँच गरेको बताउँदै उनले भने, ‘प्रश्नपत्र ‘अन द स्पट’ बनाइएको हो । प्रहरीहरु पनि त्यहिँ हुनुहुन्थ्यो । परीक्षा जिल्ला शिक्षा समन्वय इकाइले लिएको हो । चार जना विज्ञ परीक्षामा उपस्थित हुनुहुन्थ्यो । त्यसैले नतिजामा शंका गरिरहनुपर्दैन । यहाँ सतप्रतिशत मधेशी छन् । त्यसैले कोटा छुट्याएर गर्नसक्ने अवस्था छैन ।’

यता, एउटै वडाका पाँच जना उत्तीर्ण हुनुले पनि प्रश्न खडा गरेको छ । पाँच जना वडा नम्बर ५, तीन जना वडा नम्बर १, दुई जना वडा नम्बर ३ र एक जना वडा नम्बर ४ बाट उत्तीर्ण भएका छन् ।

यस विषयमा अधिकृत साहले भने, ‘यो जाति विशेष र ठाउँ विशेष परीक्षा होइन । निष्पक्ष रुपमा परीक्षा सम्पन्न भएको छ । विज्ञहरुले कपी चेकजाँच गर्नुभएकाले त्यसमा शंका गर्नुपर्ने केही पनि शंका छैन ।’ तर, मधेशभित्रैका दलित र पिछडिएका वर्गलाई आरक्षण दिनुपर्नेतर्फ उनीहरु मौन देखिएका छन् । जबकी लोक सेवा आयोगले माग गर्ने अन्य विज्ञापनमा मधेशीको आरक्षण कोटा भाग लगाइन्छ । जनआस्था