अवैध उत्खनन् रोक्न माग राख्दै विरोध प्रदर्शन

|

ढल्केवर, धनुषा

धनुषा र सिरहाको सीमामा पर्ने कमला खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न माग राख्दै मंगलबार धनुषाको वीरेन्द्र बजारमा स्थानीयले विरोध प्रदर्शन गरेको छ । अवैध उत्खनन् रोक्न अभियान चलाएका स्थानीयले गणेशमान चारनाथ नगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

“खोला खन्न पाइँदैन, नदीजन्य पदार्थको चोरी निकासी बन्द गर, कमला नदीको ठेक्का रद्द गर, अवैध क्रसर उद्योग बन्द गरजस्ता नारा लगाउँदै प्रदर्शनका सहभागीले नगरप्रमुख जितनारायण यादव र उपप्रमुख तुलसा पाण्डेको विरुद्ध चर्को नाराबाजी लगाएका थिए ।

प्रदर्शनका सहभागीले आधा घण्टा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए । कार्यालय परिसर प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि आक्रोशित बनेका प्रदर्शनका सहभागीले पूर्वपश्चिम राजमार्ग आधा घण्टा जाम गरेका थिए ।


नदीनाला अवैध उत्खननविरुद्धको अभियान समितिका सचिव कपिल फुयाँलले पटक–पटक अवैध उत्खननबारे नगरपालिकामा जानकारी गराउँदासमेत कहिकतैबाट पहलकदमी नभएपछि बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए ।

नगरपालिकाले कमला खोलाबाट नदीजन्य पदार्थ निकाल्न ठेक्कामा दिएको छ । तर, ठेकेदार पक्षले नियमविपरित राजमार्गदेखि उत्तर चुरे तथा भावर क्षेत्रमा जेसिबीजस्ता उपकरणको प्रयोग गरेर नदीजन्य पदार्थ अवैध उत्खनन गरिरहेकाले रोक्न माग गरिएको उनले जानकारी दिए ।
ठेकेदार पक्षले सम्झौताभन्दा कयौं गुणबढी नदीजन्य पदार्थ उत्खनन गरेको छ । सम्झौताअनुसार ८० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्नुपर्नेमा तीन लाखभन्दा बढी उत्खनन गरेको सचिव फुयाँलको दाबी छ ।

नगर प्रमुख यादवले विहीबारका दिन अभियानका पदाधिकारी, ठेकेदार पक्ष, जनप्रतिनिधि र अन्य सरोकारबाला निकायबीच छलफल गरेर अवैध उत्खनन बन्द गर्ने आश्वासन दिएपछि तत्काललाई विरोध प्रदर्शनका कार्यक्रम स्थगित गरिएको सचिव फुयाँलले बताए ।