नागरिकता विधेयक प्रमाणीकरण भएको खुसियालीमा दीपप्रज्वलन

|

ढल्केवर, धनुषा

नागरिकता विधेयक प्रमाणीकरण भएको खुसियालीमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ धनुषाको ढल्केवरस्थित महेन्द्र पार्क अगाडि नागरिकताबिहिन संघर्ष समितिका पदाधिकारी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले मैनबत्ति बालेर दीप प्रज्वलन गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको छ । राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।

सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनुभएको थियो ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको थिएनन् । त्यही विधेयक नौ महिनापछि प्रमाणीकरण भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि नागरिकता बिहिनहरू निकै खुसी छ्न् ।