ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिमा लगाइएको ताला खोलिएको छ । शुक्रबार नगरप्रमुख र ताला लगाउने पक्षबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो ।
ढल्केवरमा आकस्मिक सेवासहितका अस्पताल सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि आक्रोशित स्थानीयले बुधबार मेयर महेन्द्र महतो, उपमेयर सुनिता सिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
शुक्रबार स्थानीय सञ्चारकर्मीको रोहवरमा ताला लगाउने पक्ष र नगर प्रमुख महतोबीच भएको छलफलमा आउँदो असार १५ गतेभित्र स्वास्थ्य चौकी ढल्केवरमा आकस्मिक सेवा सञ्चालन गर्ने लगायत तीन बुँदे सहमति भएपछि नगरपालिकामा लगाइएको ताला तीन दिनपछि खोलिएको बताइएको छ ।
नगरपालिकाले सो आकस्मिक अस्पताल सञ्चालनका लागि कर्मचारी भर्ना गर्न जेठ २५ गते आवेदकहरुको अन्तर्वाता लिन समय तोकिएको थियो । तर, अन्तर्वाताको एक दिन अगाडि प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कर्मचारी भर्ना प्रक्रिया स्थगितको सूचना सार्वजनिक गरेपछि ओक्रोशित स्थानीयले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए ।
आकस्मिक अस्पताल सञ्चालनका लागि नगरपालिकाले गएको असोज १२ गते नै मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४ र स्वीपर २ जनासहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो ।
नगरपालिकाले अस्पताल सञ्चालन गर्न स्वास्थ्य चौकी ढल्केवरको परिसरमै रहेको एक भवन तयारी गरेको छ भने स्वास्थ्य उपकरणसमेत खरिद गरिसकेको बताइएको छ ।