‘पानीको मुख्य स्रोत चुरे संरक्षणमा सबै जुट्नुपर्छ’

|

ढल्केवर, धनुषा

नवौं चुरे संरक्षण दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका–७, पोखरियामा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
सव डिभिजन वन कार्यालय धनुषाको सहयोग तथा चुरे तथा नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

वृक्षरोपण कार्यक्रमका सव डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले चुरे अन्न र जलको भण्डार भएकाले यसलाई जोगाउनु पर्छ भन्ने भावनाले अभियानको रुपमा केही थान वृक्षरोपण गरिएको बताए । उनले बिरुवा रोपेर मात्र नहुने यसको संरक्षण र सम्वद्र्धन पनि जरुरी रहेको जनाए ।

सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले चुरे संरक्षण भए मात्र तल्लो तटीय क्षेत्रमा जलस्तर बढने भएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

सुजित झाले तराईका निम्ति चुरे क्षेत्र भूमिगत जल भण्डारको काम गरिरहेको बताए । तल्लो तटीय क्षेत्रमा पानीको जलस्तर घट्दै गएको बताउँदै उनले भूमिगत जलस्तर बढाउन चुरे क्षेत्रमा वृक्षरोपण आवश्यक भएको जनाए ।

पत्रकार समाजका अध्यक्ष डा. अनिलकुमार कर्णले भूमिगत जलस्तर बढाउन र पर्यावरणलाई सन्तुलनमा राख्न वृक्षरोपणको अभियान चलाउनुपर्ने बताए । तापक्रम बढ्दै गएको र भूमिगत जलस्तर घट्दै जानु चिन्ताको विषय बनेको बताउँदै उनले पानीको मुख्य स्रोत चुरे संरक्षणमा सबै जुट्नुपर्ने जनाए ।