चारनाथ खोला खन्न स्थानीयले रोक लगायो

|

ढल्केवर, धनुषा

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको चारनाथ खोलामा भइरहेको ग्राभेल उत्खननमा स्थानीयवासीले रोक लगाएको छ । खोलामा पानीको बहाव बनाउने बहानामा खोलाबाट खनिएको ग्राभेल अन्यत्र लगेको पाएपछि स्थानीयले रोक लगाएको हो ।

सोमबार बिहान कमला नदी अवैध उत्खननविरुद्धका संघर्ष समितिका संयोजक बाली शर्मासहितका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिका श्रीराम टोलका सयौं जनाले खोला पुगेर तत्काल खोला खन्न रोक लगाएको बताइएको छ । उनीहरु खोलामा पुगेपछि खोलामा रहेका टिपरको भागभाग भएको थियो ।

खोलामा २० देखि २५ फिट चौडाई तथा १५ देखि २० फिट गहिराइसम्म ग्राभेल खनिएको स्थानीयवासीको भनाइ छ । खनिएको ग्राभेल खोला क्षेत्रमै राख्नुपर्नेमा टिपरमा लोड गरेर अन्यत्र ओसारिएको दाबी उनीहरुको छ ।

सरकारी साधन स्रोतमा अवैध उत्खनन भइरहेको बताउँदै उनीहरुले गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादव र उपमेयर तुलसा पाण्डेको मिलोमतोमा यो सब भइरहेको आरोपसमेत लगाए ।


गणेशमान चारनाथ नगरपालिकाका मेयर यादवले जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशनअनुसार चारनाथ पुलेदेखि झण्डै डेढ किलो मिटर दक्षिणसम्म खोलामा पानीको बहाव बनाउन खोला खनिएको बताए । नगरपालिकाको साधन स्रोतमा खोलाको दुई भागमा पानीको बहान बनाउने कार्य भइरहेको बताउँदै उनले एक चम्चा बालुवासमेत खोलाभन्दा बाहिर नगएको दाबी गरे ।

सस्तो लोकप्रियता कमाउन विपक्षी दलका कार्यकर्ताले झूठो हल्ला फैलाएको मेयर यादवको भनाइ छ । उनले भने, पुल वरिपरी तथा खोलामा गिट्टी बालुवा थुप्रिएर खोलाको सतह माथि उठेको छ । बर्षा तथा बाढीको समयमा पुल खोजिममा पर्ने र दक्षिणी भेगका आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेकाले खोलामै नहर आकारमा पानीको बहाव बनाउने कार्य भइरहेको जनाए ।

कमला नदी अवैध उत्खननविरुद्धका संघर्ष समितिका सचिव कपिल न्यौपानेले जिल्ला विपद् व्यवस्थापन समितिको पत्रअनुसार पुलको उत्तर र दक्षिण भागमा तीन–तीन सय मिटर मात्रै खन्न भनिएको छ । तर, यहाँ झण्डै दुई किलो मिटर परसम्म खनिएको छ त्यो पनि २०–२० फिट गहिरो । पानीको बहाव बनाउने हो भने यति गहिरो किन ? पानीको बहाव बनाउने नाउँ अवैध उत्खनन मौलाएको उनले भने ।