
ढल्केवर, धनुषा
सौतेनी आमालाई कुटेर हत्या गरी घरभित्रै जलाउने प्रयास गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, पथलैयास्थित अशोक जैसवालको घरमा डेरा भाडा गरी बस्दै आएका २० वर्षिय प्रेम भगतलाई सौतेनी आमाको हत्या गरेको आरोपमा शनिबार प्रहरीले पक्राउ हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदबहादुर गौतमले टाउकोमा चोटपटक लागेको तथा शरीरका विभिन्न भाग जलेको अवस्थामा ३९ वर्षीया मिरा भगतको घरभित्रै शव भेटिएको बताउनुभयो । घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा प्रेमले सौतेनी आमा मिरालाई काठको चिरपटले हिर्काएर हत्या गरी लुगा तथा सुतलीको बोराले छोपेर आगो लगाएको स्वीकार गरेपछि उनलाई प्रहरी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रेम भारतीय नागरिक भएको बताइएको छ । भारतको बिहार राज्य बेतिया जिल्ला नरकटियागङज गाउँमा प्रेमको घर रहेको छ । उनी यहाँ डेढ महिना अघि मात्र पिता राजु भगत र सौतेनी आमा मिरासँग बस्न आएका थिए ।
प्रेमका पिता राजु गाउँकै विवाहित मिरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए । घरमा खटपट शुरुभएपछि जेठी श्रीमती र जेठीपट्टीका छोराछोरीलाई घरमै छोडेर तीन वर्षअघि उहाँ नवविवाहिता श्रीमतीलाई लिएर नेपाल छिरेका थिए । नेपालमा उहाँहरु गणेशमान चारनाथ नगरपालिकाकै मुर्गियामा घर भाडा गरी बसेका थिए । अशोक जैसवालको घरमा चार महिनाअघि मात्र डेरा सारेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपमा पक्राउ परेका प्रेम राजुको जेठी पट्टीका कान्छो छोरा हुन् ।