
जनकपुर
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जथाभावी फालिने फोहर नियन्त्रण गर्न छड्के अनुगमन गर्नुभएको छ । घर तथा पसल, व्यवसाय र अन्य कामबाट निस्केका फोहोरलाई सचित व्यवस्थापन गर्नुको सट्टा सडक, झाडी, पर्ति जग्गा र पोखरीको डिलमा फोहर फाल्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न उहाँ आइतबार बिहान छड्के अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा १० जनाभन्दा बढी औषधि पसल, किराना पसल तथा होटल व्यवसायीलाई सडकमै फोहर फालिरहेको अवस्थामा भेटिएको मेयर साहले बताउनुभयो । उहाँहरुलाई आइन्दा जथाभावी फोहर नफाल्न सचेत गराएको उहाँले जानकारी दिनुभयो ।
घर घरबाट फोहरमैला संकलन गर्न ट्याक्टर र सफाइकर्मीको व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘सडकमा फोहर फाल्ने ति व्यापारीहरुलाई सचेत गराएका छौं, फेरि भेटिए उपमहानगरपालिकाको प्रचलित कानुनअनुसार जरिवाना तथा कारवाही गर्छौं ।’
जनकपुरधामलाई सफा राख्न उपमहानगरपालिकाले मात्र चाहेर पनि सम्भवन हुँदैन । नगरवासी पनि उत्तिकै दायित्व बोध हुनुपर्ने मेयर साहको भनाइ छ । उहाँले पसल, होटल तथा घरआँगनमा उत्पादिन फोहोर सीधा ट्याक्टरमा राखिदिन नगरवासीसँग आग्रह गर्नुभयो ।