
ढल्केवर, धनुषा
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा धनुषाको ढल्केवरमा टायर बालेर प्रदर्शन गरिएको छ ।
ढल्केवरको दक्षिण चोकस्थित पूर्वपश्चिम राजमार्गमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले नेपाली कांग्रेस जिन्दावाद, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्नेलाई कडा कारवाही गर जस्ता नारा लगाएका थिए ।
नेपाली कांग्रेस मिथिला नगरपालिकाका नगर सभापति जोगी महतोको अगुवाइमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतो, ख क्षेत्रका सभापति श्रीराम यादव, नेवि संघका जिल्ला उपसचिव अखिलेश महतो, राजकुमार महतो र बद्रि बानियाँलगायत करिब ४० जना पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार भएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।