ढल्केवर, धनुषा
धनुषास्थित मिथिला नगरपालिकाका शिक्षकहरुले संघीय संसदमा पेस भएको शिक्षा विधेयक जलाएका छन् । शुक्रबार ढल्केवरस्थित पार्कमा भेला भएका शिक्षकहरुले संघीय संसदमा पेस भएको शिक्षा विधेयक शिक्षकहरुको हकहितविपरित भएको भन्दै जलाएका हुन् ।
नेपाल शिक्षक संघ मिथिला नगरपालिका अध्यक्ष रामप्रसाद खरेलले संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरुको पेशागत मर्यादाविरुद्ध भएकाले विरोधस्वरुप सांकेतिकरुपमा विधेयक जलाएको बताए ।
यसैगरी, मिथिला नगरपालिका नेपाल शिक्षक संगठनका अध्यक्ष रामकुमार महतोले प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग राख्दै विधेयक जलाएको जानकारी दिए ।
‘यो सांकेतिक आन्दोलन हो । माग पूरा नभए विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउँछन् । सरकारले हाम्रो माग पुरा गर्नुपर्छ । अन्यथा विद्यालय बन्द गरेर हामी सडकमा आउन बाध्य हुनेछौँ । यसको क्षति र जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने ।
शिक्षा विधेयक जलाउनुअघि ‘शिक्षकहरुले शिक्षा विधेयक खारेज गर, हाम्रो हकअधिकार कायम गर’जस्ता चर्को नारा लगाउँदै ढल्केवर चोकको परिक्रमा गरेका थिए ।