नक्कली कम्युनिस्टले जातीय द्वन्द्ध बढाए : नेकपा माक्र्सवादीका महासचिव ज्ञवाली

|

ढल्केवर, धनुषा

नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का महासचिव दिपक ज्ञवालीले नक्कली कम्युनिस्टहरुले जात र धर्मको नाममा लडाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार धनुषाको ढल्केवरमा पार्टीको ७४ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले नेपालका धेरै कम्युनिस्ट पार्टीहरु कम्युनिस्टको खोल ओढेका नक्कली कम्युनिस्ट भएको आरोप लगाउँदै जातीय र धार्मिक द्वन्द्धलाई बढावा दिएको बताए ।

उनले भने, यसको ज्वलन्त उदाहरण देशका थुप्रै ठाउँमा देखिएको छ । ‘कम्युनिस्टको खोल ओढेर बसेकालाई जनताले अब चिन्न सक्नुपर्छ ।
एमसीसीको नाममा अमेरिकी साम्रज्यवाद भित्रियाउने, जातीय द्वन्द्ध बढाउने, युवा शक्तिलाई विदेशमा श्रम गर्न पठाउने पार्टीका नेता कम्यूनिस्ट हुनसक्दैन ।’

महासचिव ज्ञवालीले देशमा ठूला कम्युनिस्ट पार्टी भनाउँदाहरु अमेरिकी पुँजिवादको दलाल भएको आरोपसमेत लगाए । नक्कली कम्युनिस्ट पार्टीले देश डुबाएको बताउँदै उनले सामान्तवाद, दलाल नोकरशाही पुँजिवाद तथा सामा्रज्यवादबाट राष्ट्रलाई मुक्त गर्ने बेला आएको बताए ।

पार्टीका केन्द्रीय अध्यक्ष मानद्वज गुरुङ्गको प्रमुख आतिथ्यमा भएको पार्टी स्थापना दिवस कार्यक्रममा पार्टीका महासचिव दिपक ज्ञवाली, केन्द्रीय कोषाध्यक्ष शंकर चौरसिया, पार्टी प्रवक्ता सुरेश आछामे, केन्दीय सदस्य टेक बहादुर अधिकारी, पोल्टीब्यूरो सदस्य हेमलाल श्रेष्ठ, , केन्दीय सदस्य प्रमोद साहलगायत पार्टीका नेताले सम्बोधन गरेका थिए ।