मिथिला नगरपालिकाका निजामती कर्मचारी धर्नामा

|

ढल्केवर

धनुषास्थित मिथिला नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरुले धर्ना दिएर विरोध कार्यक्रम गरेका छन् । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले शुक्रबार नगरपालिकाको परिसरमित्र धर्ना दिएर विरोध कार्यक्रम गरेका हुन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले निर्धारण गरेको विरोधका कार्यक्रमअन्तर्गत मिथिला नगरपालिकाका ३४ जना कर्मचारी हातमा कालो पट्टी बाँधेर धर्नामा बसेको संघर्ष समिति मिथिला नगरपालिकाले जानकारी दिएको छ ।

देश भरिका स्थानीत तहमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने केन्द्रीय निर्देशन रहेको र सोही अनुसार यस नगरपालिकामा सेवा प्रवाह बन्द रहने व्यहोराको जानकारी संघर्ष समितिले गराएको छ ।

वर्तमान अवस्थामा स्थानीय सेवाका कर्मचारीहरुको वृति विकास एवम् सेवाको सुरक्षालगायतका विषयमा २० बुँदे मागसहित उनीहरु  निरन्तर आन्दोलन गर्दै आएका छन् ।