ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–७ पोखरियामा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमबीच सव डिभिजन वन कार्यालय पुष्पवलपुरका अधिकृत राम युगल साहले सो कार्यालयको उद्घाटन गरेको हो ।
पोखरिया पर्यटन क्षेत्रमा सहरी विकास आयोजनाले निर्माण गरेको दुइ तले पक्की भवनमा पोखरी दमार सामुदायिक वन उपभोक्ता समूह र केमलीपुर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय उद्घाटन गरिएको बताइएको छ ।
वन क्षेत्रमै वन उपभोक्ता समूहको कार्यालय स्थापनाले वनबाट हुने अवैध काठ चोरी तस्करीमा नियन्त्रणमा आउने दावी गरिएको छ ।
कार्यलय उद्घाटनको अवसरमा वन कर्मचारी र वन उपभोक्ता समूहका अध्यक्षलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।