
ढल्केवर, धनुषा
नेपालीहरुको महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन शक्तिपीठ तथा घरघरमा कलश राखेर घटस्थापना गरिएको छ । शास्त्रीय विधानअनुसार विधिपूर्वक दशैंमा घर वा शक्तिपीठमा कलश स्थापना गरी भवानीको आह्वान गर्ने गरिन्छ ।
यस्तै, धनुषाको ढल्केवरमा रहेको दुर्गा भगवतीको मन्दिरमा पनि कलश स्थापना गरिएको छ । करिब तीन हजारभन्दा बढी कलश स्थापना गरिएको अनुमान गरिएको छ । करिब २० किलो मिटर टाढा कमला नदीबाट भरेर ल्याएको कलश ढल्केवर चोकको परिक्रमा गरी मन्दिर स्थापना गरिएको हो । कलश यात्रामा अधिकांश महिलाको सहभागिता रहेको थियो ।
युवा नेतृत्वमा गठित यसपालीको दुर्गा मेला समितिले बितेका वर्षभन्दा यसपटक राम्रो गरेर देखाउने अठोट लिएको छ । युवा विवेक ठाकुरको नेतृत्व यसपालीको दुर्गा मेला समिति गठन गरिएको छ । समितिले अठोट गरेअनुसार ढल्केवर चोकमा रहेको पार्क सौन्र्यकरण गरिएको छ ।