
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–७ पोखरियामा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच वन तथा वातावरण मन्त्रालयका सचिव जगन्नाथ जैसवालले कार्यालयको उद्घाटन गरेको हो ।
उहाँले मिथिला तालले समेत परिचित बन्दै गएको पोखरिया पर्यटन क्षेत्रमा नवनिर्मित दुइ तले पक्की भवनमा पोखरी दमार सामुदायिक वन उपभोक्ता समूह र केमलीपुर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त कार्यालय उद्घाटन गरेको बताइएको छ ।
भवन उद्घाटन गर्दै सचिव जैसवालले पोखरियामा पर्यटन क्षेत्रको विकास सँगसँगै वनजङ्गलको उचित संरक्षण र सम्वद्र्धन गर्नुपर्ने दायित्व वन उपभोक्ता समहूको रहेको बताए । उहाँले वन संरक्षणमा उपभोक्ता समितिको अतुलनीय भूमिका रहेको भन्दै दुवै उपभोक्ता समूह मिलेर साझा रणनीति बनाएर सामुदायिक वनभित्रका पर्यापर्यटन, समुदायमा आधारित उद्यम र रोजगारी सृजना गर्न सकिने जानकारी दिए ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीले वन क्षेत्रमै वन उपभोक्ता समूहको कार्यालय स्थापनाले वन संरक्षणमा टेवा पुग्ने बताउँदै दुवै समूहले तालमेल बनाएर वन संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले वन संरक्षणसँगै वन अतिक्रमण र हस्तक्षेत्र हुनबाट जोगाउन दायित्व पनि वन समूहको भएको बताए । उनले सामुदायिक वन क्षेत्रमा हुने कुनै पनि गतिविधिको जवाफदेही वन समूहको भएकोले पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी वन समूहले लिनुपर्ने जानकारी दिए ।
अध्यक्ष शर्माले केमलीपुर सामुदायिक वन उपभोक्ता समहू मधेश प्रदेशमै पहिलो समूहको रुपमा दर्ता भएको जानकारी गराउँदै यसका हरेक गतिविधि एक नम्बरको हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
पोखरी दमार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वन उपभोक्ता महासंघ धनुषाका उपाध्यक्ष नन्द सिलवाललगायत वन समूहका पदाधिकारी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।