ढल्केवर, धनुषा
धनुषास्थित मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले विभिन्न बाधा व्यवधानका बाबजुद नगरमा विकास निरन्तरण भइरहेको दाबी गरेका छन् । उनले नगरपालिकाबाट हुने नियमित विकासका कार्य बाहेक स्नातक तहसम्मको क्याम्पस र सुविधा सम्पन्न अस्पताल निर्माणका कार्य अगाडि बढेको बताएका छन् ।
बुधबार धनुषाको ढल्केवरमा प्रदेश चार (ख) नेपाली कांग्रेस कार्यसमितिद्वारा आयोजित बडादशैं, दीपावली तथा छठ पर्वको शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै उनले क्याम्पस र अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको बताए ।
उनले भने, कार्यपालिकामा मेरो समर्थनमा उपस्थिति जनाउने सदस्य संख्या निकै कम छ । विपक्षी दलबाट निर्वाचित सदस्यले सकारात्मक कामलाई पनि नकारात्म देख्छन् । राम्रो गर्न खोज्दा पनि अवरोध र विरोध गर्छ । तर, मेरो खुट्टा डगमगाएको छैन् । जुन वाचा गरेर मिथिला नगरपालिकाको नेतृत्व तहमा आएको छु त्यो पुरा गर्न प्रयत्नशील छु । उनले गठनबन्धनबाट निर्वाचित सदस्यले पनि खासै सहयोग नगरेको दुखेसो पोखे ।
कार्यक्रममा मधेश सरकारका गृह तथा सञ्चार मन्त्री मोहम्मद समिमले आपसी सद्भाव कायम राख्दै मौलिक चाडपर्व विजयादशमी, दीपाली र छठ पर्व मनाउन आग्रह गरे । सामाजिक एकता र आपसी सद्भावले नै देशको मौलिक चाडपर्वको संरक्षण सम्वद्र्धन हुने बताउँदै उनले भने, ‘बडादशैं र आउँदै गरेको दीपाली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकमना व्यक्त गर्दछु । साथै सामाजिक एकता र आपसी सद्भाव कायमको शुभकमना दिन चाहन्छु ।’
कार्यक्रममा बोल्दै उनले यहीँ चार नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाहीका लागि संघीय सरकारसँग मागसमेत गरे ।
प्रदेश सभासदस्य कुवरकान्त झाले मिथिला नगरपालिकालगायत उत्तरी भेग तरकारी र उखु उत्पादनका लागि उर्वरभूमि भएको बताउँदै यस क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि मधेश सरकारका गृह तथा सञ्चार मन्त्रीलाई आग्रह गरे ।
क्षेत्रीय सभापति श्रीराम यादवको अध्यक्षतामा भएको शुभकमना आदानप्रदान कार्यक्रममा प्रदेश सभासदस्य शेषनारायण यादव, अन्जना पण्डित, पार्टीका महासमिति सदस्य राजकुमार महतो , प्रदेश सदस्य गुदर यादव, क्षेत्रीय सचिव बुधेश्वर महतो, नेपाली कांग्रेसका मिथिला नगरपालिकाका सभापति जोगी महतोलगायत पार्टीका क्षेत्रीय तथा नगरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।




