
जनकपुर
मधेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो जन्मदिन वृक्षरोपण गरेर मनाएका छन् । उनले आफ्नो जन्मदिनमा जनकपुरको पिडारी चोक र रमानन्द चोकस्थित सडक किनारमा एक–एक वटा बरपिपलको वृक्षरोपण गरे ।
वृक्षरोपण गर्दै पूर्व राज्यमन्त्री मण्डलले प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, पवित्र विचार, असल कर्म र संस्कारलाई प्रोत्साहन गर्न जन्मदिनमा वृक्षरोपण गरिएको बताए । उनले भने, केक काटेर भन्दा पनि वृक्षरोपण गरेर जन्मदिन मनाउनुपर्छ भन्ने मान्यताको सुरुवात गर्ने मान्छे हुँ म ।
जतिखेर वन तथा वातावरण राज्यमन्त्री थिएँ त्यसैबेलादेखि यो अभियान चलाएको हुँ । आफ्नो कार्यकालमा अभियानको क्रममा १३ लाख बिरुवा रोपें ।
अगाडि उनले भने, प्रदेशमा ६१ लाख जनता छन् । सबैले आफ्नो जन्मदिनमा एउटा बिरुवा रोप्दा एक वर्षमा ६१ लाख रुख बढ्छ । जसले गर्दा पर्यावरण संरक्षण तथा बढ्दो तापक्रमलाई न्यूनिकरण गर्न सहयोग पुग्छ ।