
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरस्थित बसही पुल सवारी दुर्घटना हुने क्षेत्र बनेको छ । ढल्केवर–जनकपुर छ लेन सडक मार्गमा पर्ने सो पुलमा दुर्घटनामा परी एक वर्षको अवधिमा छ जनाभन्दा बढीको मृत्यु र अनगन्ती घाइते भएको छ ।
गएको शनिबार सोही पुलमा भएको मोटरसाइकल दुर्घटनामा मालपोत कार्यालय धनुषाका कर्मचारी नागेन्द्र साहको आठ वर्षीय छोरा सिद्धार्थ साहको मृत्यु भएको छ । कर्मचारी साह आफैँले चलाएको मोटरसाइकलको चक्का एउटा सानो ढुङ्गामा चढेपछि सन्तुलन बिग्रेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पछाडि सवार उहाँको छोरा पुलको रेलिङ्गमा ठोक्किँदा मृत्यु भएको थियो ।
यस्तै, केही महिना अगाडि सोही पुल नजिक एउटा भारतीय नम्बरको कारलेले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ढल्केवरका कपडा व्यापारी शिवलाल यादवको मृत्यु भएको थियो । त्यसअघि एक साताको अन्तरालमा दुई वटा कार पुल मुनि झरेको थियो ।
पुलनजिकैको गाउँ भक्तिपुरका पर्शुराम यादवले पुलमा र पुल नजिक विगत दुइ वर्षदेखि सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले हप्तामा एक–दुई वटा सवारी दुर्घटना हुने गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ढल्केवर–जनकपुर मार्गमा छ लेन सडक निर्माणको काम सकिए पनि पुल निर्माणको काम समयमा हुन नसक्दा दुर्घटना बढेको हो । सडक फराकिला भएपनि पुलको चौडाई एक लेनकै छ । फराकिला सडक देखेर चालकले सवारी तीव्रगतिमा चलाउने र पुल नजिक आइसकेपछि सडक साँघुरा भएको देखेर अलमलिने तथा सन्तुन बिग्रेर दुर्घटना हुने गरेको यादवको बुझाइ छ ।
पुलको भएको स्थानमा छ लेनको पुल निर्माणका लागि डिभिजन सडक कार्यालय जनकपुरले आर्थिक वर्ष २०७५÷०७६ मै ठेक्का दिएको भए पनि ठेकेदार पक्षले पुल निर्माणको कामलाई तीव्रता दिएको छैन । अहिलेसम्म तीन वटा पिलर मात्र खडा गरिएको छ ।
डिभिजन सडक कार्यालय जनकपुरका इन्जिनीयर विवेक झाले नागाअर्जुन जेभि कन्स्ट्रक्सनलाई दुई वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी डेण्डरमार्फत ठेक्कामा दिइएको बताउनुभयो । ठेकेदार पक्षले समय अवधिमा काम गर्न नसकेपछि एक वर्ष अवधि थप गरिएको छ तर, त्यो समयावधि पनि २०८० साल असार मसान्तमै सकिएकाले त्यही कन्स्ट्रक्सनलाई थप समय दिने कि नयाँ टेण्डर प्रक्रियामा जाने विषयमा छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।
इन्जिनीयर झाले पुलकै कारण दुर्घटना बढेको कुरा अस्वीकार गर्दै भन्नुभयो, पुल निर्माणको क्षेत्रमा जानकारीमुलक सङ्केत चिन्ह र सचेतनामुलक बोर्डसमेत राखिएको छ । धेरैजसो दुर्घटना चालकको लापरवाहीले हुने गरेको छ ।