ढल्केवर
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धव घिमिरेले प्रकृतिको प्रकोप न्यूनीकरण गर्नका लागि नाङ्गो भएका डाँडा र खाली जमिनलाई हरियालीमा बदल्नुपर्ने बताएका छन् । शुक्रबार धनुषाको मिथिला नगरपालिका–७ मा केमलीपुर सामुदायिक वन उपभोक्ता समिति स्थापना भएको ३५ वर्ष पुरा गरेको अवसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
हरियाली वृद्धि गर्न कुनै एक जनाले गरेर मात्र नहुने बताउँदै उनले वन उपभोक्ता समिति, पर्यावरण अभियानी, वन कर्मचारीलगायत सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहका सचिव घिमिरेले वृक्षरोपण र संरक्षण गर्न जनचेतना फैलाउनु पर्ने जानकारी दिए ।
सो अवसरमा सर्वेश्वर महादेव मन्दिर परिसरमा तत्कालीन उद्योग पर्यटन तथा वन मन्त्रालयको आर्थिक अनुदानमा नवनिर्मित योग भवन र पाण्डवराज स्मृति पार्कको सचिव घिमिेर र कार्यक्रमका विशिष्ठ अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले संयुक्तरुपमा उद्घाटन गरे ।
सोही स्वागत तथा सम्मान कार्यक्रममा केमलीपुर सामुदायिक वन उपभोक्ता समिति पूर्व पदाधिकारी तथा अतिथिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका प्रमुख सुनिल कर्ण, अधिकृत सुरेश शर्मा, बेचन महतो, लालबाबु यादव, वडाध्यक्ष रामबहादुर स्याङ्गदन, वन उपभोक्ता समूहका पदाधिकारी, वन कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।