३५ वर्षपछि घर फर्किए मण्डल भन्छन् ः– ‘अब घर छोडेर जान्न’

|

विजयकुमार साह

ढल्केवर

३५ वर्षअघि बेपत्ता भएका धनुषाको धनुषाधाम नगरपालिका–५, नौसय विघाका रामहृदय मण्डल घर फर्किएका छन् । १६ वर्षको उमेर मजदुरी गर्न भारतको आसाम पुगेका मण्डल उतै बेपत्ता भएका थिए । ५१ वर्षको उमेरमा उहाँ घर फर्कनु भएको छ ।

भारतबाट लामो समयपछि घर फर्किएका मण्डलको घर परिवारमा यतिखेर खुसियाली छाएको छ भने उहाँलाई भेटन आउनेहरुको भीड लागेको छ । छरछिमेक, छिमेकी गाउँ, र नातागोताका आफन्तहरु भेटन आउने गरेका छन् ।

घर फर्किएका मण्डलले आसाम, कलकत्ता, दिल्लीलगायत भारतका विभिन्न सहरमा मजदुरी गरेको बताउनुभयो । ठाउँ परिर्वतन गर्दै मजदुरी गर्ने क्रममा नेपालको सीमा नजिकको भारतीय सहर सीतामढी आएपछि घरको निकै याद आयो र घर आएको उहाँले सुनाउनुभयो ।

धनुषाकै लगमास्थित मावली गाउँको एक जना साथीसँग मजदुरी गर्न भारतको आसाम पुगेको बताउँदै उहाँले भन्नुभयो, दिमागमा के भयो–भयो घर फर्किन मन लागेन । आसाम बसाइँको दुई वर्षपछि बुवा विन्दी मण्डल लिन गएपनि आफू केही दिनमा फर्कन्छु भनेर बुवालाई फर्काइ दिएको मण्डलले बताउनुभयो ।

उहाँले भन्नुभयो, कमाउन केही सकिएन । अलिअलि कमाएको खाएरै सकियो । जवानी पनि त्यसै खेर गयो । अब मरुन्जेल घर छोडेर जान्न ।
मण्डलले घर छोड्दा आठ महिनाअघि मात्रै विवाह गरेर ल्याएकी श्रीमती चानो देवी र उहाँको गर्भमा दुई महिनाको बच्चा थियो । श्रीमती घरमै हुनुहुन्छ भने गर्भवती अवस्थामा छोडेर गएको श्रीमती चानोको कोखबाट जन्मिएको छोरो प्रमोद मण्डल वैदेशिक रोजगारमाको सिलसिलमा कतारमा छ । कतारमा रहेका छोरासँग फेसबुकको मेसेन्जरबाट कुराकानी भएको मण्डल बताउनुभयो ।


मण्डलको श्रीमती चानोले श्रीमान फर्किएको निकै खुसी लागेको बताउनुभयो । थुप्रै वर्षपछि फर्किका श्रीमानलाई चिन्न केही बेर अलमलमा परेको भएपनि अनुहार र अनुहारमा भएको खतले चिन्न समय नलागेको उहाँले जानकारी दिनुभयो ।

घर छोड्दा श्रीमानको शरीर दुब्लोपातलो थियो । अहिले माटाउनु भएको छ । त्यसले गर्दा पनि चिन्नमा अलमल परेँ । तर, एक दिन फर्किन्छ भन्ने विश्वास थियो, उहाँले भन्नुभयो । त्यही विश्वास र आशमा एक पतिव्रता महिलाले गर्नुपर्ने कर्तव्य गरिनै रहेको उहाँको भनाइ छ ।

एक न एक दिन श्रीमान आउँछ भन्ने विश्वास थियो । त्यसैले सिउँदोमा सिन्दुर लगाउने, चुरापोते लगाउने र श्रृङ्गार गर्न छोडिन । श्रीमानसँग कुनै अप्रिय घटना भएको होला भनेर कहिल्यै चिन्ता पनि गरिन् । कहिले काँही कुरा चल्दा भने भावुक हुन्थे, मण्डलको श्रीमती चानोले भन्नुभयो ।

मण्डलका साखै काका राजेन्द्र मण्डलले हेर्न बित्तिकै चिनेको बताउनुभयो । आफ्नै काँखमा हुर्काए बढाएको मण्डललाई चिन्न समय नलागेको उहाँले जानकारी दिनुभयो । ६७ वर्षिय छिमेकी जैसी यादवले उही नै रामहृदय रहेको बताउँदै सबै दाजुभाइको अनुहार हुबहु मिलेको बताउनुभयो ।

चार दाजुभाइ र एक बिहिनीमध्येको जेठो छोरो मण्डलको बुवाआमाको दुई वर्षअघि देहान्त भइसकेको छ । दाजुभाइ पनि अंशवण्डा गरेर अलग–अगल बसेको छन् ।