ढल्केवर
मधेश प्रदेशका सभासदस्य हरिनारायण महताले विपन्न वर्गको जनतालाई आर्थिक र सामाजिकरुपमा रुपान्तरण गर्नका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन् । शनिबार धनुषाको ढल्केवरमा नमूना बचत तथा ऋण सहकारी संस्थाको दसौं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले विपन्न र बेरोजगारलाई कर्जा प्रदान गरेर समाजको आर्थिक निर्माणमा ठूलो सहयोग पुगेको जानकारी दिए ।
नेपालमा गरिवी निवारण सम्बन्धी जतिपनि कार्यक्रमहरु भएका छन् । ति कार्यक्रमहरु लक्षित वर्गमा पुग्न नसकी रहेको बेला सहकारीले त्यस्तो वर्गलाई समेट्दै पूँजी अभावका कारण निष्क्रिय रहेका जनशक्ति समेटेर आयमुलक एवम् व्यवसाय मुलक कार्यमा लाग्न प्रेरित गरी सहकारीले एउटा समृद्ध समाज निर्माणमा ठूलो भूमिका खेलेको उन भने ।
यसैगरी, मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले सहकारीले मानिसलाई बचत गर्न सिकाएर व्यक्तिगत एवम् राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्नुका साथै थोरै पैसाको लागि भौतारिनु पर्ने अवस्थाका अन्त्य गरेको बताए ।
समुदायको जीवनस्तर माथि उठाएर समाज उत्थानमा सहकारीले सहयोग पु¥याएको भन्दै उनले सहकारीलाई एउटा नियमको दायराभित्र राख्न मिथिला नगरपालिकाले सहकारी ऐन ल्याउन लागेको जानकारी दिए ।
सहकारीका अध्यक्ष नारायण बास्तोलाले सहकारीको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक शेयर सदस्यको एक लाख रुपियाँसम्मको दुर्घटना जीवन बिमा गरिने बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले शेयर सदस्यको मृत्युउप्रान्त नीजको परिवारलाई १० हजार क्रिया खर्च, सुत्केर शेयर सदस्यलाई सहयोगस्वरुप दुई हजार विपत्तमा परेका शेयर सदस्यलाई प्रकृति हेरि दुईदेखि १० हजार रुपियाँ नगद वा सो बराबरको जिन्सी उपलब्ध गराउने बताए ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, र उत्कृष्ट ऋणी गरी २४ जनालाई सम्मान गरेको थियो । यसैगरी, संस्थाको सामाजिक दायित्वअन्तर्गत महेन्द्र माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरका गरी १४ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।